मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
पर्वत । २०८० असार १८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले पछिल्लो ६ महिनामा पर्वतमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको विवरण सार्वजनिक गरेको छ । जिल्लामा मानव अधिकारको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले गत पुस १५ गतेदेखि यही असार १५ गतेसम्मको ६ महिनाको अवधिमा विभिन्न पाँच प्रकृतिका २७ ओटा घटनाहरू सङ्कलन गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटना ६ ओटा, महिला बलात्कारको एउटा, घरेलु हिंसामा १८ ओटा, जातीय विभेदको एउटा र जनप्रतिनिधि कुटपिटको एउटा गरी कुल २७ ओटा घटनाहरू सङ्कलित छन् । यीमध्येको करिब ८० प्रतिशत घटनाका पीडित दलित समुदायमा भएका पनि थापाले बताउनु भएको छ । स्थानीय तहका रूपमा विभाजन गरेर हेर्दा सबैभन्दा बढी घटना जलजला गाउँपालिकामा भएको पाइएको छ । यसलाई न्यूनीकरण गर्नका लागि विभिन्न प्रयासहरू हुँदै आएको भए पनि अघिल्लो ६ महिनाको तुलनामा पछिल्लो ६ महिनामा घटनामा झनै बृद्धि हुनु दुःखद् रहेको प्रतिनिधि थापाको भनाइ छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम बिकले अधिकांश घटनाहरू दलित समुदायमा भएकोप्रति दुःख व्यक्त गर्दै यसको नियन्त्रण तथा न्यूनीकरणमा सबैको साझा पहल आवश्यक रहेको औँल्याउनु भयो । जुन समुदाय शिक्षा र स्वास्थ्य सेवाबाट कम पहुँचमा छ त्यही समुदायमा नै घटना बढी देखिएको भन्दै उहाँले यसको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य छविलाल तिवारीले घरेलु हिंसा तथा मानव अधिकार उल्लङ्घनका घटना नियन्त्रणको लागि सरोकारवाला पक्षहरूको एउटै उद्देश्य रहनुपर्ने बताउनु भयो । यसको नियन्त्रण गर्नु सबैको साझा दायित्व रहेको पनि उहाँको भनाइ थियो । नागरिक समाज सञ्जाल पर्वतका संयोजक माधव पौडेलले सरकारी कार्यालयले कार्यान्वयन गरेका कार्यक्रमहरू उद्देश्य अनुसार सञ्चालन नहुँदा पनि मानव अधिकारको अवस्थामा प्रगति हुने नसकेको बताउनु भयो । लक्षित कार्यक्रम अनुसार उपलब्धि निकाल्ने गरी काम गर्नुपर्ने भए पनि कामका लागि मात्रै काम हुँदा समस्या भएको उहाँको भनाइ छ । महिला मानव अधिकार रक्षक सञ्जाल पर्वतकी अध्यक्ष सरिता भण्डारीले विभिन्न समस्याका कारण पीडितहरू खुल्न नसक्दा मानव अधिकार उल्लङ्घनका घटनाहरू बाहिर आउन नसकेको बताउनु भयो । इन्सेकको वर्ष पुस्तकमा ज्येष्ठ नागरिकले परिवारभित्रै तथा सामाजिक रूपमा भोग्नुपरेका समस्याहरूलाई मानव अधिकार उल्लङ्घनका घटनाका रूपमा समावेश गर्नुपर्ने उहाँको सुझाव छ ।
अनलाइन डेस्क