मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
हुम्ला । २०७८ मङ्सिर १४ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर १२ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले ०७७ पुस १७ गतेदेखि ०७८ मङसिर १२ गतेसम्म सङ्कलन गरिएका १० ओटा घटना प्रस्तुत गर्नु भएको छ । सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित तीन ओटा, स्वास्थ्य अधिकारको एउटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका पाँच ओटा र आर्थिक तथा समाजिक अधिकारको एउटा घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि सिंहले बताउनु भयो ।
हालसम सङ्कलन गरिएका तर पुष्टि गर्न बाँकी भएमा सम्बन्धित सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर समेटनु पर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो । इन्सेकले सङ्कलन गरेका घटनाहरूको सम्पादन गर्दै सो घटना प्रति सम्बन्धित निकायहरूको पनि ध्यान जानु जरुरत देखिएको प्रजिअ आचार्यले बताउनु भयो । नेपाली कांग्रेसका जिल्ला उपसभापति बसन्त रोकायाले जिल्लामा भएका घटनालाई सङ्कलन गरी अभिलेख राख्दा पीडितले कुनै न कुनै दिन न्याय पाउने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावतले भौगालिक बनावटका कारण घटना सङ्कलनमा समस्या हुने गरेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्व शर्माले हुम्लामा मानव अधिकारको अवस्था सुदृढ राख्न प्रहरी सक्षम रहेको बताउनु भयो । खाद्यान्नको अभाव र बाढी पहिरोबाट समस्या झेल्दै आएका घटनाहरूलाई पनि इन्सेकले अभिलेखिकरण गर्नुपर्ने नेकपा एमाले जिल्ला कमिटीका सदस्य छक्क रोकायाले बताउनु भयो ।
अनलाइन डेस्क