मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि पूर्व समीक्षा सम्पन्न

रामेछाप । २०७८ मङ्सिर २४ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते मन्थलीमा सम्पन्न भएको छ । इन्सेक, मन्थली नगरपालिकाको तथा मानव अधिकार संरक्षण सञ्जाल लगायतका संस्थाको आयोजनामा भएको कार्यक्रममा सन् २०२१ मा जिल्लामा सङकलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको थियो ।

PhotoRamechhap2202112010

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले सन् २०२१ मा जिल्लामा २६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएका र ती मध्ये अधिकांश बलात्कार र बलात्कार प्रयासका घटना रहेको बताउनुभयो । मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले बढ्दो प्रविधिको विकाससँग मानव अधिकार उल्लङ्घनका घटनाका प्रकृति पनि फेरिएका बताउनुभयो । त्यसैले मानव अधिकारका विषय अध्यन गर्दा त्यस तर्फ ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले मानव अधिकारको विषय गम्भीर विषय भएको बताउनुभयो । कतिपय घटनाका पीडित भनिएका पीडक र पीडक भनिएका पीडित हुने अवस्था समेत आएको ले यसतर्फ पनि सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

PhotoRamechhap1202112010

जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले यौनिक हिंसाका घटना बढ्नु चिन्ताको विषय भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुङ्गानाले प्रहरीमा आएका घटनालाई हेर्दा यौनिक हिंसा र आत्माहत्याका घटना बढ्दै गएको देखिने बताउनुभयो । जिल्ला बारका अध्यक्ष विचारसिंह तामाङले पीडितले कतिपय मुद्दा दर्ता गर्न विधि प्रक्रिया पुगेन भन्दै दुःख पाएको भन्दै गुनासो गर्नुभयो । कार्यक्रममा बोल्दै मानव अधिकार संरक्षण संञ्जालका जिल्ला संयोजक पाण्डव प्रसाईँले आत्माहत्याका घटना बढ्दै गएकाले त्यसलाई अब मानव अधिकारको कोणबाट विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा