मानव अधिकार संयन्त्रसम्बन्धी तालिम सम्पन्न
कैलाली । २०७८ वैशाख ७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षक र नागरिक समाजका प्रतिनिधिहरुलाई मानव अधिकार संयन्त्रसम्बन्धी पाँच दिने तालिम वैशाख ७ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार तालिमको उद्देश्यका बारेमा जानकारी गराउँदै मानव अधिकार रक्षक र नागरिक समाजको भुमिका, दायित्व र पहिचानको विषयमा सहजिकरण गर्नु भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख मोहनदेव जोशीले राष्ट्रिय मानव अधिकार आयोगको गठन, मानव अधिकारको अवधारणा, राष्ट्रिय मानव अधिकार आयोगको संयन्त्र तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय महासन्धिहरुको प्रभावकारीता र कार्यान्वयन अनुगमनबारे सहजिकरण गर्नु भयो ।
अधिवक्ता तथा मानव अधिकार तालिमका मुख्य सहजकर्ता अच्युत आचार्यले मानव अधिकारको परिचय, अवधारणा र सिद्धान्त तथा मानव अधिकार रक्षकहरुको काम, कर्तव्य र अधिकार तथा आचारसंहिताको बारेमा सहजिकरण गर्दैै सामुहिक अभ्यास गराउनु भयो । इन्सेक केन्द्रीय कार्यालय, काठमाडौँ डिसिए परियोजनाका संयोजक सरिता पुरीले मानव अधिकारका सवालमा मानव अधिकार रक्षकहरुले रणनीति निर्माण गरेर मानव अधिकारका सवालहरुलाई सम्बोधन गर्न पहल कदमी गर्न आवश्यक भएको बताउँदै रणनीति निर्माण सम्बन्धि सहजिकरण गर्नु भएको थियो ।
सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरबहादुर परियारले नेपालको संवैधानिक तथा कानुनी व्यवस्था र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा सहजिकरण गर्नु भएको थियो । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले मानव अधिकारको सिद्धान्त, अनुगमन र अभिलेखीकरणको बारेमा सहजिकरण गर्नु भयो ।
कार्यक्रममा सहभागि जनक परियारले तालिमबाट सिकेका शिपहरुलाई द्वन्द्वपीडित परिवारको अधिकारको क्षेत्रमा तथा समुदायमा लागु गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । मानव अधिकार रक्षक सञ्जाल, दाङका सदस्य हुमा डिसीले इन्सेकले पाँच दिनसम्म सञ्चालन गरेको तालिमले आफूलाई मानव अधिकारको क्षेत्रमा काम गर्न थप सहयोग गरेको बताउनु भयाे ।
तालिमका सहभागि हरिश जोशीले पाँच दिनसम्म्म सञ्चालन भएको मानव अधिकार तालिम मानव अधिकारका अन्तराष्ट्रिय तथा राष्ट्रिय कानुनसँग सम्बन्धित भएकाले आफूलाई न्यायिक क्षेत्रमा काम गर्न थप सहयोगि भएको बताउनु भयो ।
वैशाख ३ गतेदेखि सञ्चालन भएको तालिममा लुम्बीनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी