मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । २०८० असोज १३ गते

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । इन्सेकको आयोजनामा असोज १३ गते मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा पत्रकारिताको भूमिका विषयक दुई दिने तालिमको उद्घाटन सत्रमा बोल्दै यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शर्माले मानव अधिकार के हो ? के होइन, भनेर बुझ्दा सूचकहरु आवश्यक रहेकोे बताउनुभयो । सरकारले आजदेखि भोलिसम्मको विषयलाई हेरेर मानव अधिकारमैत्री बनाउने बताउनुभयो । उहाँले स्वतन्त्रता भनेको बुझाइ, दृष्टिकोण र यथार्थमा रुपान्तरण हुने कुरा भएको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानव अधिकारको रक्षाका गर्न लागि परेको बताउनुभयो । मुख्यमन्त्री शर्माले गरिबीका कारण अधिकारको हनन् भएको बताउँदै त्यसलाई कसरी माथि उठाउने ? भन्ने विषयलाई पच्छ्याएर सरकारले नीति तथा कार्यक्रम अगाडि ल्याएको बताउनुभयो । समाजलाई दक्ष जनशक्ति उत्पादन गर्ने  शिक्षा क्षेत्र नै कमजोर भएकोे बताउनुभयाे । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पत्रकारिता र मानव अधिकार एउटै डुङ्गाका यात्री रहेकोले सहकार्य गर्न जरुरी रहेको औंल्याउनुभयो । पछिल्लो समयको सामाजिक सञ्जाल र प्रविधिले पत्रकारितालाई चुनौती रहेको भन्दै पठनयोग्य सामग्री उत्पादन गरे त्यसको प्रभाव पर्ने उहाँले बताउनुभयो । तागत भएका सामग्री ल्याउन पत्रकारहरुलाई उहाँले अनुरोध गर्नुभयो । भ्रामक समाचारबाट बच्नुपर्ने, जनसरोकारका विषयमा खोज रिपोर्टिङ्ग गरे पत्रकारिताको भविष्य राम्रो रहेको बताउनुभयो ।

        

ज्ञान, सिप र समय आवश्यक रहेको भन्दै पत्रकार अग्रपंतिको मानव अधिकार रक्षक रहेकोले सबैजना मिलेर सँगसँगै अगाडी बढ्नुपर्ने उहाँको सुझाव छ । डिसिएका कार्यक्रम व्यवस्थापक सुर्यकुमारी सुनारले पत्रकारिता मार्फत सरोकारवाला निकाय र समुदायलाई जिम्मेवार बनाउने काम गर्ने हुँदा यो तालिम उपलब्धीमूलक हुने बताउनुभयो । उहाँले मानव अधिकारको रक्षा गर्ने सवालमा पत्रकारिताको महत्वपुर्ण भूमिका रहेको भन्दै तथ्यमा आधारित रहेर मानवअधिकारको सवालमा रिपोर्टिङ्ग गर्न अनुरोध गर्नुभयो । स्वागत मन्तब्य राख्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विगतदेखि हालसम्म गर्दै आएका कामहरुको बारेमा जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघकका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले यो तालिमले कर्णालीमा मानव अधिकारका सवालमा केही सहयोग पुग्ने बताउनुभयो । त्यस्तै गरी , इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले समाजमा घट्ने विभिन्न घटना परिघटनालाई मानवअधिकारसँग जोडेर रिपोर्टिङ्ग गर्न सहज होस् भनेर यो तालिमको आयोजना गरिएको बताउनुभयो । कर्णाली प्रदेशका सात जिल्ला सुर्खेत, दैलेख, रुुकमपश्चिम, सल्यान, जाजरकोट, जुम्ला र कालिकोट गरी ३० जना पत्रकारहरुको सहभागिता रहेको छ । दुई दिनसम्म तालिमको सहजिकरण आरआर क्याम्पस पत्रकारिता र आमसञ्चार विभाग प्रमुख डा. श्रीराम पौडेल, मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार र पत्रकारिताका उपप्रध्यापक युवराज शर्मा र केशवी जोशीले गर्ने इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

जगतदल जनाला विक