मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) को वार्षिक समिक्षा बैठक सम्पन्न

काठमाडौँ । २०८० भदौ २२ गते

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) को वार्षिक समिक्षा बैठक ०८० भदौ २२ गते गते काठमाडौँमा सम्पन्न भएको छ । समिक्षा बैठकले सहारा नेपाल, सुभ अवसर ग्राम र ब्लु डायमण्ड सोसाइटीलाई सञ्जालमा सदस्यता प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । यसअघि ७८ ओटा मानव अधिकार सङ्घसंस्था आबद्ध रहेको सञ्जालमा तीन ओटा सदस्य संस्था आबद्ध भएसँगै सञ्जालमा आबद्ध हुने सदस्य संस्थाको सङ्ख्या ८१ पुगेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महिला पुनर्स्थापना केन्द्र (ओरेककी) अध्यक्ष डा. रेणु अधिकारीले मानव अधिकारको बदलिँदो अवस्थामा मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रलाई अझ सशक्त रूपमा अगाडि बढाउन रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याउनु भयो । उहाँले मानव अधिकारका मुद्दा र सवाल उठाउन सञ्जालको ठूलो महत्व रहेको भन्दै यसलाई अझै सक्रिय बनाउन सबै सदस्य संस्था एकजुट हुनुपर्ने बताउनु भयो ।

 

साधारण सभामा सम्बोधन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सञ्जालको ज्यादै ठूलो महत्व रहेको भन्दै यसलाई अझै सक्रिय बनाउन सबै सदस्य संस्था एकजुट हुनु पर्ने बताउनु भयो । उहाँले महिला तथा बालबालिकामाथि हुने हिंसा, कारागार र हिरासत कक्ष, बल सुधार गृहमा हुने हिंसा लगायतका मानव अधिकार उल्लङ्घनका घटना बढिरहेको उल्लेख गर्दै त्यस्ता विषयमा समितिहरूले निरन्तर अनुगमन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । त्यस्तै अधिकारकर्मी उषा मल्ल पाठकले आफूहरूले संयुक्त राष्ट्र सङ्घीय उच्च आयुक्तको कार्यालयमा पठाउने छायाँ प्रतिवेदनको बारेमा काम गर्दै गरेको जानकारी गराउनुभयो । पाठकले मानव अधिकार उल्लङ्घनका हरेक घटनामा भिन्न भिन्न समुदायका व्यक्तिहरू पीडित हुन सक्ने भएकाले त्यस्ता घटनालाई सामूहिक अन्तर्विच्छेदन दृष्टिकोणबाट अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो । वार्षिक समिक्षा बैठकमा केन्द्र अन्तर्गतका विभिन्न आठ ओटा समितिहरूका संयोजक संस्थाले आ-आफ्नो तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विमल पौडेल