मानव अधिकार समुहद्वारा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी समस्या पहिचान

तनहुँ । २०७७ असोज २७ गते

 

अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा तनहुँको भानु नगरपालिकामा मानव अधिकारको संरक्षण र सम्बद्र्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धी कार्यक्रम अन्तरगत गठन गरिएको मानव अधिकार समूहले सो नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी विभिन्न समस्याहरू पहिचान गरेको छ । समूहले असोज २५ गते नारेश्वरटारमा गरेको अन्तरक्रिया कार्यक्रममा नगरपालिका भित्र विभिन्न विषयमा समस्याहरू पहिचान गरी समाधानकोलागि सेवा प्रदायकहरूलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । समूहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा बसेको सो बैठकले पहिचान गरेका शिक्षा सम्बन्धी मुख्य समस्यामा कोभिड–१९ को कारण हाल विद्यालयहरू बन्द भएको र विद्यार्थीको शिक्षण सिकाई प्रभावित भएको छ । त्यस्तै अन्य समस्याहरूमा सामुदायिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नभएको, निम्न मावि तथा मावि तह सञ्चालन भएपनि प्राविको दरबन्दीका शिक्षकले अध्यापन गराउनुपर्ने बाध्यता रहेको, सामुदायिक विद्यालयमा लगानीको अनुपातमा उपलब्धी कम हुने गरेको, गरिबीको कारण बालबालिका विद्यालयमा नियमितरूपमा आउन नसकेको, छात्रहरूकोलागि छुट्टै शौचालय भएपनि छात्र र शिक्षकहरूकोलागि एउटै मात्र शौचालय रहेको र बालविवाहको कारण विद्यालय छाड्ने दर बढी भएको लगायतका समस्याहरू पहिचान गरिएको छ । त्यसैगरि विद्यालयमा जङ्कफुड मुक्त बनाउने भनिएपनि अभिभावकले नै बालबालिकालाई जङ्कफुड खाजाको रूपमा पठाउने गरेको, विद्यालयको आम्दानीको श्रोत नहुँदा नीजि श्रोतका शिक्षकलाई पाल्न गाह्रो भएको, सामुदायिक विद्यालयका बालबालिकाका अभिभावकले बालबालिकालाई विद्यालय पठाउन खासै चासो नदिने, विद्यालयमा खेल मैदानको अभाव रहेको, अपाङ्ग मैत्री पुर्वाधारहरू नभएको तथा विद्यालयमा शैक्षिक सामग्रीहरू पर्याप्त नभएको लगायतका शिक्षा सम्बन्धी समस्याहरू पहिचान गरिएको छ ।

??

समूहले स्वास्थ्य सम्बन्धी समस्याहरूमा मुख्य रूपमा कोभिड– १९ को समस्या प्रमुख रहेको छ । कोभिडको त्रासको कारण नागरिकहरू निर्धक्कसँग बाहिर डिँड्डुल गर्न नसकेको, कोभिडकै त्रासको कारण स्वास्थ्य संस्थामा उपचार गर्न पनि समस्या परिरहेको, कोभिड– १९ कै त्रासको कारण प्रत्येक तीन महिनामा गरिने मधुमेह र उच्च रक्तचापको परीक्षण हाल रोकिएको छ । भानु नगरपालिकामा धेरै जना नागरिकमा कोभिड– १९को सङ्क्रमित भएका छन् । त्यसैगरि अन्य समस्याहरूमा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधी नभएको, स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने सेवाको बारेमा सबै नागरिकले जानकारी नपाएको,  बालबालिकामा कुपोषण सम्बन्धी समस्या रहेको, बर्थिङ्ग सेन्टर स्थापना भएपनि सुत्केरी गराउन नआएको, स्वास्थ्य चौकीको भवन सुविधा सम्पन्न भएपनि सेवाग्राहीको पहुँचमा नभएको, सरकारबाट निःशुल्क पाइने औषधीहरूको बारेमा नागरिकलाई जानकारी नभएको जस्ता समस्याहरू पहिचान गरिएको छ । त्यस्तै खाद्य सम्बन्धी समस्याहरूमा बजारमा खुल्लारूपमा गुणस्तरहिन खाद्य पदार्थ विक्री वितरण भइरहेको, बजार अनुगमन नभएको, व्यवसायिक तरकारी खेतीप्रति कृषकहरू खासै आकर्षित नभएको, सिंचाईको व्यवस्था नभएको, जग्गा प्लटिङ्गले खेतीयोग्य जग्गाहरू नष्ट भएको, कृषकहरूलाई आधुनिक कृषिको बारेमा तालिमको अभाव रहेको, अर्गानिक खेती र उत्पादनमा जोड नदिइएको, एक जना कृषि तथा पशु प्राविधिकले दुई / तीन ओटा वडामा सेवा दिनुपर्दा सेवा प्रवाह प्रभावकारी नभएको, कृषि अनुदानको बारेमा कृषकहरू जानकारी नभएको  जस्ता समस्याहरू पहिचान भएका छन् । कार्यक्रममा समूहका संयोजक कृष्णराज धमनीयाले पहिचान भएका समस्याहरूको बारेमा स्थानीय तह, सम्बन्धित इकाई र वडा कार्यालयहरूमा ध्यानाकर्षण गराई समाधानकोलागि पहल गरिने बताउनुभयो ।

प्रकाशचन्द्र भट्टराई