मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
कैलाली । २०७९ पुस ६ गते
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम पुस ५ गते बेलौरीमा सम्पन्न भएको छ । बेलौरी नगरपालिका शिक्षा शाखा प्रमुख देबबहादुर चन्दले पालिकाले निर्माण गरेकोे नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको बताउँदै प्रभावकारी कार्यान्वयनका लागि मानव अधिकार समुहले सल्लाह सुझाब तथा सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मानव अधिकार समूहले निश्चित ठाउँ र क्षेत्रको समस्या तथा सवाल सम्बन्धमा पालिकालाई जानकारी गराउँदा समाधान गर्न सजिलो हुने बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले दुई दिने तालिमले मानव अधिकार समूह र सेवाप्रदायक निकाय बीच शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक विभेद तथा जातीय छुवाछुतका सवालहरु पहिचान गर्न तथा समाधान गर्ने सम्बन्धमा साँझा बुझाई भएको हुँदा आगामी दिन त्यस्ता सवालहरु समाधानको लागि सहज हुने बताउनु भयो । दुई दिनसम्म सञ्चालन गरिएको क्षमता अविृद्धि तालिममा इन्सेकका सुदूरपश्चिम संयोजक खडकराज जोशीले मानव अधिकारको अवधारणा, आर्थिक, सामाजिक र सास्कृतिक अधिकार तथा मानव अधिकार समुहको काम, कर्तव्य र अधिकार, बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बि.क.ले शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक विभेद विरुद्धको अधिकारसम्बन्धी पालिकाको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था र अधिवक्ता पुष्पबिक्रम शाहीले मानव अधिकार र शुशासन तथा स्थानीय न्यायीक समितिको काम, कर्तव्य, अधिकार र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका कार्यक्रम फोकल पर्सन राजकुमार चौधरीले मागदाबि र पैरवीको प्रक्रियाका बिषयमा सहजीकरण गर्नु भएको थियो । तालिममा मानव अधिकार समुहका पदाधिकारी र बेलौरी नगरपालिकाका शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी