मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

कैलाली । २०७९ पुस १९ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरूको दुई दिने क्षमता अभिबृद्धि तालिम पुस १९ गते हसुलियामा सम्पन्न भएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले स्थानीय तहले निर्माण गरेका मानव अधिकारमा आधारित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि मानव अधिकार समुहले आवश्यकता अनुसार सल्लाह सुझाव दिन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नु भयो– ‘ गाउँपालिकालाई मानव अधिकार मैत्री बनाउन र नीति, कार्यक्रम तथा  योजनाहरु सफल बनाउन इन्सेकसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने छौँ ।’ कैलाली गाउँपालिकाले मानव अधिकार संरक्षण, सम्बर्धन र परिपुर्तिका लागि जातीय छुवाछुत, लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय, महिला हिंसा अन्त्य तथा आर्थिक, सामाजिक रुपले पछाडी पारीएका वर्गलाई समेट्ने गरी बिभिन्न ऐन कानुन बनाई नीति तथा  कार्यक्रम अगाडी बढाएको कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेलले बताउनु भयो ।

   

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले दुई दिने तालिमले मानव अधिकार समूह र सेवा प्रदायक निकाय बीच शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिंक विभेद तथा जातीय छुवाछुतका सवालहरु पहिचान गर्न तथा समाधान गर्ने सम्बन्धमा साँझा बुझाई भएको हुँदा आगामी दिन त्यस्ता सवालहरु समाधानको लागि सहज हुने बताउनु भयो । दुई दिनसम्म सञ्चालन गरिएको क्षमता अविृद्धि तालिममा इन्सेकका सुदूरपश्चिम संयोजक खडकराज जोशीले मानव अधिकारको अवधारणा, आर्थिक, सामाजिक र सास्कृतिक अधिकार तथा मानव अधिकार समुहको काम, कर्तव्य र अधिकार, कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेलले शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक विभेद विरुद्धको अधिकार, गाउँपालिकाको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था र अधिवक्ता पुष्पविक्रम शाहीले स्थानीय न्यायीक समितिको काम, कर्तव्य र अधिकारका विषयमा सहजीकरण गर्नु भएको थियो । पुस १८ र १९ गते सञ्चालन गरिएको क्षमता अविृद्धि तालिममा कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समुहका पदाधिकारी र स्थानीय निकायका शाखा प्रमुख तथा प्रतिनधिहरुको सहभागिता रहेको थियो ।

मैनामोती चौधरी