मानव अधिकार समूहको अनुभव आदानप्रदान भ्रमण सम्पन्न
धनुषा । २०८१ असार ३१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित प्रदेश स्तरीय मानव अधिकार समूहको अनुभव आदानप्रदान कार्यक्रम ०८१ असार २८ गते सम्पन्न भएको छ । अनुभव आदानप्रदान कार्यक्रम मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित मनहरी गाउँपालिकाको मानव अधिकार समूह र मधेस प्रदेशको सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका र शम्भुनाथ नगरपालिका, धनुषाको बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाका मानव अधिकार समूहबीचहरूबीच भेटघाट गरी सम्पन्न भएको हो । अनुभव आदानप्रदानको क्रममा मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहका अध्यक्ष मोहन महतो र सुरज महतो द्वयले मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा व्याप्त अशिक्षा, जातीय विभेद, महिला हिंसा, अन्धविश्वास, वातावरण प्रदुषण जस्ता समस्याहरूलाई न्यूनीकरण गर्नका लागि नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र मार्फत खबरदारी गराउने कार्य गरेको बताउनु भयो । मिथिला नगरपालिकामा दुईपटक वृक्षारोपण कार्यक्रम गरेको अध्यक्ष महतोले बताउनु भयो भने बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहको पहलमा पालिकास्थित शिवशक्ति माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरमा विद्यालय व्यवस्थापन समिति गठन गर्नुका साथै बालविवाह, दाइजो प्रथा, लागु औषध जस्ता विकृतिहरूको अन्त्यका लागि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको अध्यक्ष सुरज महतोले बताउनु भयो ।
डाक्नेश्वरी नगरपालिकास्थित सामुदायिक विद्यालयहरूमा विद्यालय व्यवस्थापन समितिको गठन नहुँदा शिक्षकहरू शिक्षण शिकाई क्रियाकलापमा भन्दापनि राजनीतिक कार्यमा व्यस्त भएको र शिक्षाको गरणस्तर खस्किदै गएको अवस्था थियो । तर, डाक्नेश्वरी नगरपालिकाका मानव अधिकार समूहले विद्यालय व्यवस्थापन समिति गठन र शिक्षामा सुधारका लागि नगर प्रमुख, शिक्षा शाखा प्रमुख र सरोकारवाला निकायसँग समन्वय गरी विद्यालय व्यवस्थापन समिति गठन गरी शिक्षण गतिविधिलाई सुधारउन्मुख बनाएको डाक्नेश्वरी नगरपालिकाका मानव अधिकार समूहका अध्यक्ष तथा मधेस प्रदेश मानवअधिकार समूहका सदस्य रामचन्द्र मण्डलले बताउनु भयो । नेपाली नागरिकता नभएकै कारण नेपालको संविधानले सुनिश्चत गरेको अधिकारबाट बञ्चित रहनुपरेका सात जना गरिव, विपन्न तथा दलित समुदायका नेपाली नागरिकहरूलाई नागरिकता बनाउन सहजिकरण गरेको मण्डलले बताउनु भयो ।
त्यस्तै, इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले मानव अधिकारको संरक्षण र संबद्र्धन गर्ने दायित्व राज्य पक्षको भएको बताउनुहुँदै लामो समयदेखि विद्यालयमा व्यवस्थापन समिति नबनेको अवस्थामा विद्यालय व्यवस्थापन समितिको गठन गरी विद्यार्थी भाइबहिनीहरूले भोग्नु परेको शिक्षकको अभाव र स्वच्छ खाने पानीलगायतको समस्या समाधान गर्नुका लागि राज्यलाई जवाफदेही बनाउनुका साथसाथै आफू पनि जिम्मेवार व्यक्ति हो भन्ने बुझ्नुपर्ने उहाँले बताउनु भयो । साथै काम गर्ने क्रममा आउने चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नुपर्छ भन्दै मानव अधिकार समूहका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद समेत प्रतिनिधि पोखरेलले ज्ञापन गर्नु भयो ।
अनुभव आदानप्रदानकै शिलशिलामा मनहरी गाउँपालिकाका सामाजिक शाखा प्रमुख ज्ञानेन्द्र ढकालले राज्यका प्रमुख अङ्गहरू मध्ये मानव अधिकार आयोग एउटा प्रमुख अङ्ग रहेको बताउनु भयो । मनहरी गाउँपालिकाका मानव अधिकार समूहले पालिकासँग समन्वय गरी मानव बेचबिखन रोकथाम तथा न्यूनिकरणका लागि जनचेतनामूलक सडक नाटक कार्यक्रम गर्दै आएको बताउनु भयो ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानका अनुसार वनजङ्गल विनाश तथा नदीनालाहरूबाट जथाभावी रुपमा बलुवा गिट्टी उत्खनन भएकोले पानीका स्रोतहरू मासिदै गएको र त्यसको प्रभाव प्रत्यक्ष रुपमा मानव समाजमा पर्न गएको छ । यसैगरी, शिक्षाको अभावका कारण दलित तथा विपन्न महिलामाथि यौन हिंसाका घटनाहरू बढी भएको र मधेस प्रदेशका कारागारहरूमा दिनानुदिन आत्महत्याका घटनाहरू बढ्दै जानु चिन्ताजनक रहेको संयोजक पासवानले बताउनु भयो । पालिका स्तरीय बाल अधिकार सचेतना समूह गठन गरी बालविवाह, घरेलु हिंसा, बाल श्रम, लागु औषधकोविरुद्ध जनचेतनाका कार्यक्रमहरू सञ्चालन दर्गै आएको बताउनुहुँदै कतिपय मानव अधिकार समूह, पत्रकार, समाजिक अभियन्ता, दलित अभियन्ताहरू राज्य पक्षबाट कुटिएको देख्दा मानव अधिकार सुरक्षा सम्बन्धी ऐन लागु गर्नुपर्ने पहल इन्सेकले गरेको संयोजक पासवानले बताउनु भयो ।
मनहरी गाउँपालिका वडा नं। ८ का वडा अध्यक्ष र मानव अधिकार समूहका गाउँपालिका सचिव दिपेन्द्र अधिकारीले “हामीले मासिक रुपमा गरेको कामलाई बैठकमा बसी छलफल गर्नुका साथै दुई हजार जना विपन्न परिवारहरूको लागि निःशुल्क बीमाको व्यवस्था गाउँपालिकाले गरेका” बताउनु भयो । “नेपालको पहिलो बालमैत्री पालिका मनहरी गाउँपालिका रहेको बताउनुहुँदै हामीले पालिका अध्यक्षलाई हरेक कार्यका लागि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएर काम गर्छौं” उहाँले भन्नु भयो ।
अनुभव आदानप्रदानकै क्रममा मनहरी गाउँपालिका अध्ययन र अवलोकनको थलो रहेको मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामीले बताउनु भयो । मधेस प्रदेशमा छोरीको विवाह गर्दा दाइजो दिएपछि मात्र विवाह हुने गरेको सुन्दा दुःख लागेको व्यक्त गर्नुहुँदै हाम्रो पालिका बालमैत्री घोषणा भएपनि बालविवाह नरोकिएको र त्यसलाई रोक्नको लागि बाल अधिकार समूहले पहल गर्नुपर्ने साथै मानव उपाध्यक्ष पुलामीले बताउनु भयो । त्यस्तै, मानव अधिकार समूहको कार्यक्रमको लागि छुट्टै बजेट पालिकाबाट छुट्याएको उहाँले जानकारी दिनुहुँदै मधेस प्रदेशका चारओटै पालिकाबाट आउनुभएका मानव अधिकार समूहहरूबाट धेरै कुरा सिकेको उहाँले बताउनु भयो ।
यसैबीच मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले मानव अधिकारको क्षेत्रमा विभिन्न संघसंस्थाले कार्य गर्दै आएपनि इन्सेक मात्र एक यस्तो संस्था हो जसले मानव अधिकारको क्षेत्रमा लगनशील भएर काम गर्दै आएको बताउनु भयो । उहाँले भन्नु भयो– “मधेस प्रदेशका मधेसी, दलित तथा विपन्न समुदायका मानिसहरू शिक्षामा धेरै पछाडि रहेकोले तिनीरूका लागि सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्छ” ।
यसै क्रममा, इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले सरकारले दिने सेवा जनताकाबीच लैजान र जनताका आवश्यक्ता पहिचान गरी स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन इन्सेकले मानव अधिकार समूह मार्फत मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बतउनु भयो ।
मनहरी गाउँपालिकामा गठित मानव अधिकार समूहका संयोजक बिमला गोपालले “हाम्रो पालिकाभित्र रहेका माध्यमिक तहका सबै विद्यालयहरूमा सिसिटिभी क्यामेरा जडान गरी विद्यालयमा भएको अध्ययन तथा अध्यापनको अवलोकन तथा अनुगमन भइरहेको” बताउनु भयो । साथै सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालयको व्यवस्था, बाटोमा भएको खाल्डाखुल्डीहरूको मर्मतका लागि पहल, समाजिक विकृतिहरू न्यूनीकरण गर्न समयसमयमा सडक नाटक प्रदर्शन गरी सचेतनाका कार्यक्रम चलाउदै आएको उहाँले बताउनु भयो ।
सन्तोषकुमार यादव