मानव अधिकार समूहको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुनसरी । २०७७ चैत ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग, मानव अधिकार समूहको समन्वय र कोशी गाउँपालिकाको संयोजनमा कोशी गाउँपालिकामा चैत ३० गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । शिक्षा शाखा प्रमुख,स्वास्थ्य शाखा प्रमुख,कृषि शाखा प्रमुख,पशु शाखा प्रमुख तथा प्राविधिक,विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत सरोकारवालाबिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दारुलउलुम मदर्शाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रवेज आलमले मदर्शाहरू अझै पनि सरकारी उपेक्षामा परेकोको बताउनु भयो । उहाँले कक्षा ८ माथि मुस्लिम छात्राहरूलाई पठनपाठन गराउन नपाएको, सरकारले विद्यालयमा सेनेटरी प्याड निशुल्क उपलब्ध गराउने भने पनि प्रर्याप्त नदिएको गुनासो गर्नुभयो ।

 

सरकारी स्वास्थ्य संस्था र विद्यालयमा बजेट बढेर आएपनि गुणस्तरमा कुनै सुधार नआएको अभिभावक विद्यान्दन यादवले गुनासो गर्नुभयो । शिक्षक रामकुमार यादवले विद्यालयमा भौतिक पूर्वाधार अभाव रहेको, स्वास्थ्य सेवा प्रभावकारी नभएको, गुनासो सुनुवाइ गर्न गाउँपालिकाले चासो नदेखाएको, बाल समूह गठन गर्ने, जुनियर रेडक्रस सर्कल गठन नभएको र विद्यालयमा सरकारी अनुगमन नभएको गुनासो गर्नुभयो । अधिकारकर्मी चन्द्रकला नेपालले धेरैजसो सरकारी सूचनाहरू नागरिकसम्म नपुगेको गुनासो गर्नुभयो । उहाँले स्वास्थ्य संस्था र विद्यालयमा खानेपानीको अभाव, सरसफाईको कमी, शिक्षक र स्वास्थ्यकर्मीको बेवास्ता बढेको बताउनु भयो । पत्रकार मुस्ताक आलमले उच्च शिक्षाका अध्ययनका लागि गाउँमा विद्यालय नहुदा मधेशी तथा मुस्लिम छात्राहरू उच्च शिक्षाबाट वञ्चित भएको बताउनु भयो ।

 

सार्वजनिक सुनुवाइमा सहभागी हतिमुल्ला मियाँले विद्यालयबाट प्राप्त गर्नु पर्ने छात्रवृति रकम समयमा बालबालिकाहरुले प्राप्त गर्न नसकेको, विद्यालय शान्ति क्षेत्र भनिए पनि राजनीतिक थलो बनिरहेको विषय उठान गर्नुभयो । सेवाग्राहीले उठाएका सवालमा स्वास्थ्य शाखा प्रमुख अमिल अख्खतर, पशु शाखा प्रमुख मोहन कुमार सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादव, मानव अधिकार समूहका अध्यक्ष अनिता उराँव, इन्सेकका सहजकर्ता जयकृष्ण यादव, गाउँपालिका उपाध्यक्ष अनिता यादव र वडा अध्यक्ष राजकुमार साहले जवाफ दिनु भएको थियो ।

उपाध्यक्ष अनिता यादवले स्वास्थ्य, कृषि, पशु र शिक्षाको अवस्था विषयमा गाउँपालिकाले गरेका काम तथा योजनाबारे जानकारी गराउँदै नागरिकहरूबाट आएका सुझावलाई अङ्गिकार गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कोशी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादवले सरकारी सुविधा र अनुदान पहुँचका आधारमा मात्रै दिएको गुनासो गनुभयो । स्वास्थ्य शाखा प्रमुख जमिल अख्खतरले गाउँभित्रका स्वास्थ्य शाखा र स्वास्थ्य चौकीबाट भइरहेका सेवा र कामहरूको जानकारी गराउँदै आएका सुझावहरू सम्बोधन गर्ने बताउनु भएको छ ।

जयकृष्ण यादव