मानव अधिकार समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्
सप्तरी । २०८० कात्तिक १ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिका–७ स्थित सभाकक्षमा ०८० असोज २९ गते मानव अधिकार समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । शम्भुनाथ नगरपालिकामा सम्पन्न बैठकले पुलकित भगतको अध्यक्षतामा २१ सदस्यीय मानव अधिकार समूह गठन गरेको हो । बैठकबाट उपाध्यक्षमा देबीमाया भट्टराई, सचिवमा शंकर कुमार साह, सहसचिवमा सुनिल पाल, कोषाध्यक्षमा शिवशंकर राम रहनु भएको छ । कार्यक्रममा इन्सेक मधेस प्रदेशका सहायक अधिकृत बरूण बस्यालले मानव अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण, विभेदसँग सम्बन्धित समस्याहरूको पहिचान गरी समाधानका लागि कार्ययोजना निर्माण गर्न सहजिकरण गर्नु भयो ।
मानव अधिकार समूहका अध्यक्ष भगतले पहिचान गरिएको समस्या समाधाना लागि यथाशिघ्र लाग्ने बताउनु भयो । शिक्षा, वातावरण र हिंसाका समस्या समाधानमा समूहको ध्यान केन्द्रित भएको भन्नु हुँदै भगतले कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन मात्र नभइ सामाजिक न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । न्यायमा सबैको पहुँचका लागि समूहले खेल्नु पर्न भूमिका बारे जानकारी गराउँदै सप्तरी जिल्ला सहजकर्ता अजय परियारले सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने बताउनु भयो ।
मनोहरकुमार पोखरेल