मानव अधिकार समूहद्वारा ध्यानाकर्षण पत्र

सप्तरी । २०८० चैत १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समुहले शम्भुनाथ नगरपालिकाको कार्यवाहक नगर प्रमुख अनिताकुमारी चौधरीलाई ०८० चैत्र ११ गते ध्यानाकर्षण–पत्र बुझाएको छ । आगामी परिषदमा शिक्षा, बाल अधिकार र मानव अधिकार क्षेत्रमा विभन्नि योजना राख्नु पर्ने माँग गर्दै ध्यानाकर्षण–पत्र बुझाइएको इन्सेक जिल्ला सहजकर्ता अजय परियारले जानकारी दिनु भयो । स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरूप जनताका आधारभूत आवश्यक्ता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले कार्यवाहक नगर प्रमुखलाई ध्यानाकर्षण–पत्र बुझाइएको हो । ध्यानाकर्षण–पत्रमा बालविवाह मुक्त घोषणा गर्न, महिला हिंसा, लैङगिक हिंसा विरूद्ध अभियान सञ्चालन गर्न, वैशाखमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न माँग गरिएको छ । मानव अधिकार समूहलाई वडा स्तरमा विस्तार गरी समूह गठनका लागि सहज वातावरण बनाउन, नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरूको अनुगमन गरी नगरपालिकामा प्रतिवेदन पेश गर्न ध्यानाकर्षण–पत्रमा माँग गरिएको छ ।

उक्त अवसरमा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले राज्यबाट शिक्षामा धेरै सुबिधा उपलब्ध भएपनि चेतनाको कमीले दलित बालबालिकाहरू शिक्षाबाट वञ्चित रहेको अवस्था दर्शाउनु भयो । शिक्षाको अवसरबाट वञ्चित बालबालिकाहरूको पहिचान गरी विद्यालयसम्म पुर्‍याउन अभियान सञ्चालन गर्नुपर्ने उहाँले बताउनु भयो । बाल अधिकारको संरक्षण र महिला हिंसा विरूद्धको अभियान सञ्चालन गरी बालविवाह मुक्त नगरपालिका घोषणा गर्नुपर्नेमा पासवानले जोड दिनु भयो । प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देबीमाया भट्टराई र शम्भुनाथ नगर मानव अधिकार समूहका अध्यक्ष पुलकित भगतले ध्यानाकर्षण पत्रमा उल्लेखित माँगहरूलाई गम्भीरतापूर्बकलिन र आगामी योजनामा समावेश गरी मानव अधिकारलाई सार्थकता प्रदान गर्न माँग गर्नु भयो । कार्यवाहक नगर प्रमुख चौधरीले माँगहरू प्रति ध्याकर्षण भएको भन्नुहुँदै योजनामा पेश हुने प्रतिबद्धधता जनाउनु भयो।

मनोहरकुमार पोखरेल