मानव अधिकार समूहद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
सुर्खेत । २०८० असोज १७ गते
इन्सेकद्वारा गठित पञ्चपुरी मानव अधिकार समूहले असोज १६ गते पञ्चपुरी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहमा भदौ १९ गते समस्या पहिचान तथा कार्ययोजना बैठकमा मानव अधिकार समूहले पञ्चपुरी नगरपालीकामा रहेको शिक्षा,स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरी उक्त समस्या समाधानका ध्यानाकर्षण पत्र बुझाएको हो । समस्या पहिचान गर्दा पञ्चपुरी नगरपालिकाको अधिकांश सरकारी विद्यालयमा व्यवस्थित शौचालय नभएको र सेनेटरी प्याड फाल्ने सुरक्षित स्थान नभएको भनी समस्या पहिचान गरिएको थियो । नेपालको संविधानको भाग ३ को धारा ३० मा स्वच्छतासम्बन्धी हक अन्र्तगत उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने तथा उपधारा २ मा वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षति वापत पीडितलाई प्रदुषणबाट कानुन बमोजिम क्षतिपुति पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ । यस्तै गरी, धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्वको विकासको हक हुनेछ भन्ने प्रावधान रहेको छ ।
संविधानले नै प्रत्याभूत गरेको ती अधिकारहरु पुर्ण रुपमा उपभोग गर्न बाट भने पञ्चपुरी नपाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुले बञ्चित हुँदै आएका छन । पञ्चपुरी नगरपालिकामा रहेका ३५ प्राथमिक, १० आधारभुत तह, ९ माध्यमिक विद्यालय र ५९ वटा वालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरु व्यवस्थित शौचालय उपभोग तथा सेनेटरी प्याड व्यवस्थापन गर्ने सुरक्षित स्थानको अभावको कारण स्वच्छ वातावरणमा बाँच्न तथा पढन पाउने हकबाट बञ्चित हुनु परेको अवस्था छ । बालबालिकाहरुको मनोविज्ञानमा असर नपरेको होला भन्न सकिन्न । यस पञ्चपुरी नगरपालिका घरदैलोको राज्य मात्र नभै पञ्चपुरी नगरपालिका बालबालिकाहरुको अभिभावक भएको हुँदा स्वच्छ वातावरणमा बाँच्न तथा पढन पाउने अधिकार सुनिश्चित गर्ने प्रमुख कर्तव्य र दायित्व पनि भएकाले बालबालिकाहरुले स्वच्छ रुपमा बाँच्न र पढन पाउने अधिकार सुनिश्चित गर्नका लागि पञ्चपुरीका सबै सामुदायिक विद्यालहरुमा शौचालय तथा सेनेटरी प्याड व्यवस्थापन गर्न सुरक्षित स्थानको यथासिघ्र व्यवस्थापन गर्नेतर्फ उचित कदम चालोस भन्ने अपेक्षाका साथ पञ्चपुरी मानव अधिकार समूहले नगर प्रमुख लालविर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले नागरिकलाई हक अधिकार सुनिश्चित गर्नका लागि सिघ्ररुपमा काम गर्नेछ । हामीले शिक्षा शाखालाई अनुगमनमा पठाउने र विद्यालयमा आएको समस्या छिटो समाधान गर्न तर्फ लाग्ने प्रतिबद्धता गर्नुभयो ।
जगतदल जनाला विक