मानव अधिकार समूहद्वारा नगरप्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइयो

महोत्तरी । २०७८ भदौ २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूह गौशाला महोत्तरीले गौशाला नगरपालिकाका मेयर शिवनाथ महत्तोलाई भदौ २४ गते ध्यानाकर्षणपत्र बुझाएको छ । समूहका अध्यक्ष विन्देश्वर साहको नेतृत्व तथा इन्सेक महोत्तरीका सहजकर्ता सिता केसीको सहजिकरणमा समूहले नगरमा पहिचान भएका विभिन्न समस्याको समाधान हुनुपर्ने भन्दै सामूहिक ध्यानाकर्षणपत्र बुझाएको हो । भदौ २१ गते समस्या पहिचान तथा सरोकारवाला निकायको पहिचान र कार्ययोजना निर्माणका लागि निगरानी समूहको बैठकबाट पहिचान भएका समस्याबारे मेयरलाई ध्यानाकर्षण गराएको समूहका अध्यक्ष साहले जानकारी दिनु भयो ।

नगरमा रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि समस्याबारे प्रत्येक तीन/तीन महिनामा समूहको बैठक बस्ने गरेको र नगरमा व्याप्त विभिन्न समस्याबारे छलफल गर्ने गरेको उहाँले बताउनु भयो । ध्याकर्षणपत्रमा कोभिडको खोप वितरणमा असमानता, विगत दुई वर्षभन्दा अघिदेखि सुरू गरेको गौशाला वडा न.ं ४, ६ र १२ मा अधुरो रहेको मुसहरवस्तीको भवन निर्माण कार्य यथाशीघ्र हुनुुपर्ने, वडामा नागरिकताविहीन ज्येष्ठ नागरिकहरूको वडाको सिफारिसमा परिचयपत्रको व्यवस्था गरी कोभिडको खोप लगाइ दिनुपर्ने तथा नागरिकताविहीन भन्दैमा सरकारद्वार प्रदान गरिने सेवा सुविधाबाट र स्वास्थ्य अधिकार तथा बाँच्न पाउने अधिकार वञ्चित गर्न नपाइने उल्लेख गरिएको छ ।

अजयकुमार साह