मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग

कपिलवस्तु । २०७९ असार ३० गते

इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी  ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा पन्तको नेतृत्वमा इन्सेक प्रतिनिधि पार्वती आचार्यलगायतले सहयोग हस्तान्तरण गरेका हुन् । समूहका पदाधिकारीहरू र हरि ज्ञवाली , राजी गौतम र सारदा पाठकबाट सङ्कलन गरिएको ५ हजार रूपियाँबाट गते खाद्यान्न खरिद गरी हस्तान्तरण गरिएको हो । खाद्यान्नमा ५० किलो गहुँको पिठो, २० किलो आलु र सात लिटर खानेतेल खरिद गरी उक्त परिवारलाई हस्तान्तरण गरिएको समूहका सचिव मधु पाण्डेले बताउनु भयो । बोल्न, उठ्न र सुन्न नसक्ने ज्येष्ठ नागरिक  बिगत नौ महिना देखि बिच्छौना बिनाको खटियामा सुत्दै आउनु भएको थियो । उहाँको असार २३ गते खटियामै मृत्यु भएको थियो ।

अति विपन्न परिवारलाई खान समस्या परेको मृतकका छोरा जितबहादुर थारूले गुनासो गरे पछि सहयोग गरिएको सचिव मधु पाण्डेले बताउनु भयो । यस अघि पनि  असार १५ गते इन्सेक र मानव अधिकार समूहले खाद्यान्न र  लत्ताकपडा लगायतका सामाग्रीहरू उक्त परिवरलाई सहयोग गरेको अध्यक्ष इन्दिरा पन्तले बताउनु भयो । आमा जिवीत हुँदा र मृत्यु पश्चातसमेत सहयोग गरेको भन्दै मृतकका छोरा जितबहादुर थारूले इन्सेक र मानव अधिकार समूहलाई धन्यवाद दिनु भयो । आर्थिक अवस्था कामजोर रहेका उहाँका एक वर्षदेखि १३ वर्षसम्मका  चार जना बालबालिका शिक्षाबाट बञ्चित रहेका छन् ।

पार्वती आचार्य