मानव अधिकार समूहद्वारा वृक्षारोपण

सुर्खेत । २०८० साउन २५ गते

इन्सेकद्वारा पञ्चपुरी नपामा गठित मानव अधिकार समुहले पञ्चपुरी नपा–५ स्थित शिवधाम धार्मिक स्थलमा साउन २४ गते वृक्षारोपण गरेको छ । पञ्चपुरी नपा मानव अधिकार समूहको आयोजनामा,  आवाज संस्थाको सहयोगमा तथा शिवधाम धार्मिक स्थल समितिको समन्वयमा वृक्षारोपण गरिएको हो । विश्व युवा दिवसको अवसरमा “ दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ हरित विश्व निर्माणमा हरित सीप विकास “ भन्ने मुल नाराका साथ शिवधाममा वृक्षारोपण गरिएको पञ्चपुरी नपा मानव अधिकार समुहका संयोजक अम्मर कार्कीले बताउनु भयो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै पञ्चपुरी नपा कार्यपालिका सदस्य भावना रावतले दिगो विकास लक्ष्य प्राप्तिका लागि वातावरण संरक्षण अपरिहार्य रहेको हुँदा यसका लागि वृक्षारोपण गर्नेतर्फ सबैपक्ष लाग्नु पर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा शिवधाम धार्मिक स्थल समितिका अध्यक्ष नवलसिंह देउवाले अहिलेको समयमा वृक्षरोपण गर्न अति नै आवश्यक रहेको र समितिले गर्ने काम इन्सेकद्वारा गठित मानव अधिकार समुहले गरेको प्रति आभार प्रकट गर्नुभयो । वृक्षारोपण कार्यक्रममा ईलाका प्रहरी कार्यालय बाबियाचौर, महिला सञ्जाल, शिव धाम धार्मिक स्थल समिति, इन्सेकद्वारा गठित पञ्चपुरी मानव अधिकार समूह, आवाज संस्था,नेपाल रेडक्रस सोसाइटी बिद्यापुर शाखा, वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत