मानव अधिकार समूहद्वारा विद्यालयको अनुगमन

कपिलवस्तु । २०७८ पुस २३ गते

इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूह बाणगङ्गाले जननी आधारभूत विद्यालयको अनुगमन गरेको छ । समूहका उपाध्यक्ष ईन्दीरा पन्तको संयोजकत्वमा पुस २२ गते बाणगङ्गा नगरपालिका–८ स्थित सो विद्यालयको अनुगमन गरिएको हो । अनुगमन टोलीले विद्यालयमा अनुगमन गर्दा गरिबीका कारण तीन प्रतिशत विद्यार्थी विद्यालय भर्ना भए पनि नियमित अध्ययनबाट वञ्चित भएको, ३ सय ५२ विद्यार्थी भर्ना भएका छन् तर अर्धवार्षिक परीक्षामा २ सय ५० विद्यार्थीले मात्र परीक्षा दिएको पाइएको जनाएको छ । खानेपानीको ट्याङ्की फुटेको हुँदा खानेपानीको समस्या, विद्यालय परिसर भित्र सार्वजनिक शौचालय निर्माण र विद्यालयको कम्पाउण्ड भित्र सार्वजनिक शौचालयको सेफ्टी ट्याङ्की निर्माण गरिएको पाइएको सो टोलीले जनाएको छ ।

यस्तै विद्यालयमा निःशुल्क वितरण गरिने सेनेटरी प्याड गुणस्तरीय नभएको, अर्धवार्षिक परीक्षा सञ्चालनको पहिलो दिन विद्यालयमा भर्ना भए अनुसारका विद्यार्थीहरू परीक्षामा पुर्ण रूपमा उपस्थित नभएको, विद्यालयको वाल बाउन्ड्री विद्यालय मैत्री नभएको, भौतिक निर्माणमा मर्मत गर्नुपर्ने देखिएको र विद्यालयका कक्षा कोठालाई घाम र पानीबाट सुरक्षित राख्न ओत लगाइएका टिनका जस्तापाताहरू जीर्ण अवस्थामा रहेको लगायतका समस्याहरू अनुगमनका क्रममा देखिएको जनाइएको छ । सो क्रममा बाणगङ्गा नगरपालिका शिक्षा शाखाका अधिकृत खिमबहादुर जिसीले विद्यालय प्राङ्गणभित्र सरसफाईका सवालमा विद्यालयले सुधार गर्नुपर्ने बताउनु भयो ।

विद्यालय भर्ना भएर नियमित नआउने विद्यार्थीलाई नियमित गर्नका लागि विद्यालय व्यवस्थापन समिति र अभिभावकबिच अन्तरक्रिया तथा सचेतना मूलक सन्देश प्रवाह गरी उनीहरूका समस्यालाई बुझेर विद्यालय नियमित गराउनु पर्ने आवश्यक देखिएको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक रुद्रमायाँ पौडेलले बिद्यार्थीहरु भर्ना भए पनि नियमित नहुनुको मुख्य कारण घरायसी समस्या, गरिबी, लागु पदार्थ दुव्र्यसनी, बाल विवाहलगायत रहेको बताउनु भयो । सो समस्यालाई स्थानीय तहले पहल गर्नु पर्नेमा उहाँको जोड रहेको छ । मानव अधिकार समूहकी उपाध्यक्ष ईन्दीरा पन्तले समूहले अनुगमनका क्रममा देखेका समस्याहरूको पहिचान गरेर सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो । अनुगमनमा इन्सेक प्रतिनिधि पार्वती आचार्य, शिक्षा शाखा अधिकृत खिमबहादुर जिसी, मानव अधिकार समूहका सचिव मधु पाण्डे, सदस्य देवकला सुवेदी कमाललगायतको सहभागिता रहेको थियो ।

पार्वती आचार्य