मानव अधिकार समूहद्वारा समस्या पहिचान तथा कार्ययोजना निर्माण
सुर्खेत । २०७८ भदौ २९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानव अधिकार समूह वीरेन्द्रनगरको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान कार्यक्रम भदौ २८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार समूह र सरोकारवाहरूबिच गरिएको समस्या पहिचान कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न समस्याहरूको पहिचान गरी समाधान गन पहल गर्ने निर्णय गरेका छन् । विद्यालयहरूमा प्रयाप्त खानेपानीको व्यवस्था नभएको, सेनेटरी प्याडको अभाव, सौचालय प्रयोग गर्ने अवस्थामा नभएको, सामुदायिक विद्यालयले विभिन्न नाममा विद्यार्थीबाट शुल्क उठाएको, झुप्रा खोलामा रहेको वादी समुदायमा रहेको गाउँघर क्लीनिक पुनः बन्द भएको जस्ता समस्या पहिचान गरिएको समूहका सदस्य राजेन्द्र शर्माले बताउनु भयो ।
यस्तै अनलाइन कक्षाको नाममा शुल्क लिने परिपाटी व्यवस्थित गरिनुपर्ने, जनता आवास कार्यक्रमलाई आवास सगै जिविकोपार्जन पनि व्यवस्था गर्नुपर्ने, कोभिड–१९ को खोप केन्द्र सहज बनाउनु पर्ने विषयलाई समाधान गर्न मानव अधिकार समूहले पहल गर्नु पर्ने निर्णय भएको जिल्ला सहजकर्ता विन्दुलाल रेग्मीले जानकारी दिनुभयो । खाद्यको अधिकारका सवालमा सुरक्षित र पोषण युक्त खानेकुराको प्रत्याभूति हुन नसकेको, बजारमा अनुगमन नहुँदा म्याद गुज्रिएको सामग्री बिक्री वितरण भइरहेको जस्ता समस्या कार्यक्रममा पहिचान गरिएको थियो । यसैगरी वीरेन्द्रनगर नगरपालिकामा कृषि ऐन बनाउन पहल गर्ने, खाद्य ऐन तथा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको सहजकर्ता रेग्मीले बताउनु भयो ।
विनोद लम्साल