मानव अधिकार समूह गठन तथा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न
बाँके । २०७९ भदौ २९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जानकी गाउँपालिकामा मानव अधिकार समूह गठन तथा परियोजना परिचयात्मक कार्यक्रम भदौ २८ गते सम्पन्न भएको छ । उपस्थित भेलाले गाउँपालिकामा १२ सदस्यीय मानव अधिकार समूह गठन गरेको छ । उक्त समूहको पहिलो बैठकले समूहमा पदाधिकारी थप गर्ने र र बाल अधिकार सचेतना समूहकालागि दुई वटा सामुदायिक विद्यालय नेरा मावि र जानकी मावि छनौट गर्ने निर्णय गरेको छ । कार्यक्रमा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिकामा मानव अधिकार सङ्रक्षण, प्रवद्र्धन गर्न मानव अधिकार शिक्षा कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने बताउदै आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिवद्धता गर्नु भयो ।
जानकी गाउँपालिका– ५ का वडा अध्यक्ष टिकानाथ यादवले स्थानीय तहमा मानव अधिकार मैत्री नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने भएकोले कार्यक्रम स्वागत योग्य रहेको बताउनु भयो । वडा नम्बर ६ अध्यक्ष जगदीश प्रसाद हरिजनले वडा स्तरदेखि प्रदेश र संघीय तहसम्मको मानव अधिकार समूहको संरचना बन्ने भएकोले मानव अधिकार संरक्षण ,प्रवद्र्धन र मानव अधिकार मैत्री कानुनमा पनि टेवा पुग्ने बताउनु भयो । कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी र सहजिकरण इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले गर्नु भयो । कार्यक्रममा समूदाय स्तरका नागरिक, विषयगत शाखा प्रमुख, वडा अध्यक्ष, सदस्यलगायतको सहभागिता रहेको थियो ।
लक्ष्मी थारु