








कपिलवस्तु । २०८० जेठ ९ गते
इन्सेकले गठन गरेको मानव अधिकार समूह कपिलवस्तु र बाल अधिकार चेतना समूहले कपिलवस्तु नगरपालिकाका तीन ओटा सामुदायिक विद्यालयहरूमा स्थलगत अनुगमन गरी समस्याहरूको पहिचान गरेको छ । टोलीले आधारभुत आवश्यकता खानेपानी, शौचालय, कक्षाकोठाको व्यवस्थापन, सरसफाई, अभिभावकको विद्यालय प्रतिको दायित्व, बालमैत्री विद्यालय तथा वातावरणमैत्री विद्यालय, अपाङ्गतामैत्री विद्यालयको अवस्था लगायतका विषयको अनुगमन गरेको छ । शिक्षक र विद्यार्थीहरूको पोशाक, दिवाखाजा, शिक्षक दरवन्दी, विद्यार्थी ड्रपआउटको अवस्था लगायतको समस्याहरूको पहिचान गरिएको मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले बताउनु भयो । अनुगमनका क्रममा कपिलवस्तु नगरपालिका–५ स्थित श्री कोटिग्राम माविमा जेठ ७ गते इन्सेकसँग आवद्ध मानव अधिकार समूह र बाल अधिकार चेतना समूहको टोलीले स्थलगत अनुगमन गर्यो । अनुगमन गर्दा टोलीले २०१३ सालमा स्थापना भएको विद्यालयमा विद्यालय हो भन्ने कुनै आधार नदेखिएको, विद्यालयमा व्यानर बोर्ड केही नभएको अनुगमन टोलीले जनाएको छ । यस्तै खानेपानी र शौचालयको समस्या, विद्यालय प्राङ्गणभित्र माछा बजार बनाइएको, शिक्षकहरू पोशाकमा नभएको, विद्यालय प्राङ्गणभित्र बराती राख्दा पुरै फोहोर भएको, विद्यार्थी सङ्ख्याको तथ्याङ्क नभएको, सरकारले निःशुल्क वितरण गर्ने किशोरीहरूका लागि सेनेटरी प्याड गुणस्तरीय नभएको, विद्यालयमा सूचना पाटी, दिवाखाजाको व्यवस्थापन, प्रधानाध्यापकको कार्यकक्ष व्यवस्थित नभएको अनुगमन टोलीले समस्याहरूको पहिचान गरेको थियो ।
यस्तै वडा नं. १२ सौराहस्थित श्री कालिकाजन माविमा सोही दिन अनुगमन गर्दा विद्यालयमा फोहोर व्यवस्थापन नभएको, सेनेटरी प्याड गुणस्तरीय नभएको, खानेपानीको समस्या, कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरू धेरै ड्रपआउट हुने गरेको, प्रधानाध्यापक कक्ष व्यवस्थापन नभएको, कक्षाकोठा, शौचालय, विद्यालय प्राङ्गणमा फोहोर यत्रतत्र रहेको पाइएको थियो । यसैगरी वडा १ स्थित श्री तौलेश्वरनाथ माविमा अनुगमन गर्दा श्री तौलेश्वरनाथ माविमा बहिरा तथा सुस्त श्रवण श्रोत कक्षा छात्रबासको अनुगमन गरी समस्याहरू पहिचान गरेको छ । मानव अधिकार समूह र बाल अधिकार समूहले पहिचान गरेका बिभिन्न समस्याहरूलाई जेठ ८ गते कपिलवस्तु नगरपालिकाका प्रमुख समक्ष ध्यानाकर्षणपत्र बुझाउने अनुगमन टोलीका सदस्य तथा बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीले बताउनु भयो । अनुगमनमा समूहका पदाधिकारीहरू, इन्सेक प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । शिक्षामा न्यून बजेट विनियोजन गरिदिँदा प्रशासनिक खर्च चलाउन समस्या भएको विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन् ।
पार्वती आचार्य