मानव अधिकार सहायता कक्ष प्रभावकारीतासम्बन्धी छलफल सम्पन्न

कैलाली । २०८० कात्तिक २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष प्रभावकारीतासम्बन्धी छलफल कार्यक्रम ०८० कात्तिक २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्ष मार्फत नौ महिनाको  अवधीमा १५ जना हिंसा पीडितलाई सहयोग गरेकाले मानव अधिकार सहायता कक्ष प्रभावकारी रुपमा अघि बढाउन मानव अधिकार रक्षकहरुको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो । राज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटनामा केही सुधार भए पनि महिला हिंसाका घटनामा बृद्धि भएकाले विभिन्न हिंसामा परेका गरिब तथा विपन्न वर्गका पीडितलाई यस सहायता कक्ष मार्फत सहयोग गर्दै आइरहेको र पीडितलाई गरिएको सहयोग रकम अनुमोदन गर्नु पर्ने उहाँले बताउनु भयो ।

मानव अधिकार सहायता कक्षका अध्यक्ष देवी खनालले मानव अधिकारसँग सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिक प्रहरीहरुसँग संयुक्त छलफल गरी आर्थिक, समाजिक तथा संस्कृतिक अधिकारको सवाल उठान गर्नु पर्ने बताउनु भयो । फियान नेपालका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुण्द रानाले नागरिक समाजले एक जुट भएर वातवरणीय संरक्षण र मानव अधिकारको संरक्षणका लागि मानव जिवनमा नकारात्मक प्रभाव पार्ने गरी सञ्चालनमा आएका उद्योगहरुको अध्ययन गरी नागरिकको अधिकारको लागि कानुनी उपचारमा जान आवश्यक भएको बताउनु भयो । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष अर्जुन शाहले उपभोक्ता हित संरक्षणका लागि चाडपर्व लक्षित  अनुगमन नभई  नियमित रुपमा कालोबजारी र खाद्य गुणस्तरको अनुगमन गर्नु पर्ने बताउनु भयो ।

मैनामोती चौधरी