मानव अधिकार सहायता कक्ष सवलिकरण विषयक अन्तरक्रिया सम्पन्न
कैलाली । २०८१ वैशाख ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम ०८१ वैशाख ६ गते धनगढीमा सम्पन्नभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्षमार्फत बिभिन्न हिंसा प्रभावितलाई न्यायमा पहुँच पु¥याउने उद्देश्यले कानुनी प्रकृयामा गएका र सम्बन्धीत वडाको सिफारिस तथा पीडितको निवेदन र अन्य कागजातको आधारमा पीडितलाई छनौट गरी सहयोग गर्दै आइरहेको बताउनु भयो । मानव अधिकार सहायता कक्षमार्फत काम गर्ने दौरानमा बिभिन्न जोखिममा परेका मानव अधिकार रक्षकहरुलाई सहयोग गर्न सकिने र मानव अधिकार रक्षकहरुको अभिलेखिकरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले जिम्मा लिनु पर्ने संयोजक जोशीले बताउनु भयो । डिसिए परियोजना कार्यक्रम प्रबन्धक सुर्यकुमारी विश्वकर्माले जोखिममा परेका मानव अधिकार रक्षकहरुलाई सहयोग गर्न मानव अधिकार सहायता कक्षमा निर्णय गर्न सकिने र वास्तविक पीडितलाई न्याय मात्र नभई पीडितको सुरक्षा र पुनस्र्थापनाका लागि पनि मानव अधिकार सहायता कक्षले समन्वय गरेर जानु पर्ने बताउनु भयो । दूरदराजमा रहेका पीडितहरुको न्यायमा सहजताका लागि सुरक्षित आवासका लागि सेफ हाउस सञ्चालन गरिरहेका संघसंस्थाहरुसँग समन्वय गर्न सकिने उहाँले बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत गणेश जोशीले जोखिममा परेका मानव अधिकार रक्षकहरुले मानव अधिकार सहायता कक्षमा उजुरी दिन आग्रह गर्नु भयो ।

दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले समुदायसँग जोडिएर काम गरिरहेका स्वयमसेविका, शिक्षक र मेलमिलाप कर्ताहरुको जोखिमको पहिचान गरी मानव अधिकार सहायता कक्ष मार्फत सहयोग गर्न सकिने वातावरण सृजना गर्न निर्देशिका परिमार्जन गर्नु पर्ने बताउनु भयो । गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा मानव अधिकार सहायता कक्ष व्यवस्थापन समितिका अध्यक्ष देवी खनालले मानव अधिकार सहायता कक्ष मार्फत पीडितलाई सहयोग गरेको फाइल अनुमोदन गर्नु पर्ने, यस सञ्जालका सदस्यहरुलाई सूचना सम्प्रेषण गर्न डिजिटल ग्रुप बनाउनु पर्ने र हालसम्म मानव अधिकार सहायता कक्ष मार्फत सहयोग पाएका पीडितहरुको अवस्था अद्यावधिक गरी अभिलेखिकरण गर्नु पर्ने बताउनु भयो । पत्रकार महांसंघ सुदूरपश्चिम प्रदेशका पुर्व अध्यक्ष अर्जुन शाहाले मानव अधिकार सहायता कक्षलाई थप प्रभावकारी सूचनामय बनाउन डिजिटल समूह बनाएर सूचना सम्प्रेषण गर्न आवश्यक रहेको बताउनु भयो । सिविन नेपालको प्रमुख हरीलाल चौधरीले पीडितलाई न्यायका लागि मात्र नभई दूरदराजमा रहेका पीडितको उद्धारको लागि यातायातको व्यवस्था भए मानव अधिकार सहायता कक्ष पीडित मैत्री हुने बताउनु भयो । मानव अधिकारको क्षेत्रमा काम गर्दा दुर्घटनामा परेका मानव अधिकार रक्षकहरुको उपचारमा सहयोग गर्न सकिने गरी सहयोग गर्न सकिएको खण्डमा सहायता कक्ष अझ प्रभावकारी हुने आरेक नेपालका कार्यक्रम संयोजक गिता चौधरीले बताउनु भयो ।
मैनामोती चौधरी
HUMAN RIGHTS NEWS PORTAL






