मानव अधिकार सूचना स्रोत केन्द्र स्थापनामा सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

दाङ । २०८० चैत ३ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपालगञ्जमा स्थापना गरेको मानव अधिकार सूचना तथा स्रोत केन्द्रको प्रबर्धनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले ०८० चैत १ गते भालुवाङमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गर्ने क्रममा मुख्यमन्त्री चौधरीले राज्यले गर्ने काम इन्सेकले गरेको र त्यसमा लुम्बिनी प्रदेशको सहयोग हुने प्रतिबद्धता जनाउनुभएको हो । इन्सेकले नियमित प्रकाशन गरेको मानव अधिकार वर्ष पुस्तक र मानव अधिकार अवस्था दर्शाउने महत्वपूर्ण दस्तावेज गरेको भन्दै उहाँले वर्ष पुस्तकले सामाजिक विकासमा प्रदेशका योजनाकार्यक्रम र लक्षित वर्ग पहिचानमा टेवा पुर्‍याउने बताउनु भयो ।

सो अवसरमा प्रदेशको मानव अधिकार अवस्था बारे छलफल भएको थियो । भेटकै अवसरमा इन्सेक लुम्बिनी प्रदेश संयोजक महतले इन्सेक प्रदेश कार्यालयको निर्माणाधिन भवनका लागि पनि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले भवन निर्माणमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मानव अधिकारको अवस्था अध्ययन अनुसन्धानमा सहजता ल्याउन प्रदेश सरकारले मानव अधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरेको बताउनुभएको छ । भेटघाटका क्रममा प्रदेश संयोजक महतले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीसँग भेट गरी प्रदेशको मानव अधिकार अवस्था बारे छलफल गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गर्नु भएको थियो ।

जयनारायण पुन