मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवस सम्पन्न

मोरङ । २०७८ भदौ २० गते

मानव बेचबिखनविरुद्को १६ औँ राष्ट्रिय दिवस इन्सेक प्रदेश १ कार्यालयको आयोजनामा सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागीहरुले मानव बेचबिखनको स्वरूप  फेरिएको तर मानव बेचखिबन अझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) माइती नेपाललगायतले सोमवार रानी भन्सार विराटनगरमा आयोजना कार्यक्रममा सहभागीहरूले मानव बेचबिखनको स्वरूप मात्र फेरिएकाले मानव बेचबिखन निर्मूलका लागि तीन ओटै सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले अझै पनि जोगवनी नाकाबाट मानव तस्करहरूले समूहले मानव बेचबिखन गरीरहेको बताउनु भयो । उहाँले अहिले शिक्षित र मानव बेचबिखनको बारेमा जानकारी भएकाहरूलाई समेत राम्रो रोजगारी वा विभिन्न प्रलोभनमा चोरीको बाटो हुँदै अमेरिक पुर्याउने भन्दै मानव बेचबिखन भइरहेको बताउनु भयो । शिक्षित मानिसहरू नै मानव तस्करको चङ्गुलमा परेर बेचिइरहेको अवस्था भएकाले अब मानव बेचबिखनविरूद्धको अभियानलाई सशक्त र प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

      

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अहिले आर्थिक गतिविधिका नाममा मानव बेचबिखन हुने भएकाले त्यसको न्यूनीकरणका लागि सङ्घीय सरकार र स्थानीय सरकार बढी जिम्मेवार भएर काम गर्न आवश्यक भएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी दाहालले अहिले मानव बेचबिखनको स्वरूप फेरिएर शिक्षाको नाममा, व्यापारको नाममा, कलाकारको नामको मानव तस्करी भइरहेकाले बेचबिखन नियन्त्रणका लागि सामाजिक सङ्घसंस्थाको सहयोग राज्यलाई आवश्यक भएको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग विराटनगर प्रमुख नितु गड्तौलालले पहिले महिला र बालबालिका बेचबिखन जस्तो गरी मानव बेचबिखन नहुने भएकाले सीमा क्षेत्रसाथै राज्यले बेचबिखनविरूद्धका नीति तथा कार्यक्रम कठोर बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अब हात समाएर सिमाना कटाउने जमाना नभएकाले इन्टरनेटको प्रयोग गरी हुने मानव तस्करी रोक्न राज्यसहित सङ्घसंस्थाले कार्यविधि बनाउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले पछिल्लो समय अफ्रिकामा नेपाली चेली र बैदेशिक रोजगारीका नाममा पुरूषको बेचबिखन भइरहेकाले त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भयो । थापाले स्थानीय सरकारले सङ्घीय सरकारसँग समन्वय गरी रोजगारीको अवस्था सिर्जना गर्न सके मानव बेचबिखन अन्त्यका लागि प्रभावकारी हुने बताउनु भयो ।

  

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङ शाखा अध्यक्ष सञ्जीव खनालले घरपरिवारमा मानव बेचबिखनको सचेतना परिवारका सदस्यले नै फैलाउन सकेको अवस्थामा मानव बेचबिखन नियन्त्रण गर्न सकिने बताउनु भयो । गएको आर्थिक वर्षमा रानी भन्सारबाट १०६३ जनाको उद्दार, ५ हजार बेचबिखन प्रयास घटनामा नियन्त्रण, २७२ जना हराएको र ११० जना भारतमा फेला पारी उद्दार गरिएको तथ्याङ्क प्रस्तुत गरिएको छ । प्रदेश १ प्रहरी कार्यालयका तथ्याङ्कमा गएको आवमा मानव बेचबिखनविरूद्धका २३ ओटा मुद्दा कानुनी प्रक्रियामा रहेको जानकारी गराइएको थियो । कार्यक्रमस्थलमा इन्सेक प्रदेश १ कार्यालय विराटनगरले मानव बेचबिखनविरुदको ब्यानरसहित मानव अधिकारसँग सम्बन्धित आफ्ना प्रकाशन तथा पुस्तक प्रर्दशनी र विवरणका लागि स्टल राखेको थियो ।

इन्सेक प्रदेश १, कार्यालय विराटनगर