मानव बेचबिखन तथा ओसारपसारविरूद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
धनुषा । ०७७ भदौ २१
मानव बेचबिखन तथा ओसारपसार विरूद्धको चौधौँ राष्ट्रिय दिवस २०७७ को अवसरमा जनकपुरधाममा ‘मानव बेचबिखन तथा ओसारपसारको अन्त्यः सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’सम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ २० गते सम्पन्न गरिएको छ ।
ओरेक नेपाल, इन्सेक, एड्भोकेसी फोरम नेपाल र जिल्ला युवा सञ्जाल धनुषाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
अन्र्तक्रिया कार्यक्रममा अहिले नेपाल भारतको खुल्ला सीमानाबाट भारततर्फ नेपाली चेलीबेटी बेचबिखन हुँदै आएकोमा लकडाउनको बेलामा आन्तरिक रूपमा समेत मानव बेचबिखनका घटना बढेको प्रदेश २ सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख देवकुमारी खत्रीले बताउनु भयो ।
कोरोना भाइरसको महामारीको बेलामा स्थानीय तह, प्रदेश सरकार, केन्द्रीय सरकार र गैरसरकारी सङ्घ संस्थाहरूको पहलमा मानव बेचबिखनको घटनाहरुलाई न्यूनीकरण गर्न सकिने उहाँले बताउनु भयो ।
कार्यक्रममा इन्सेक प्रदेश २ संयोजक राजु पासवानले मानवको इच्छा विपरीत वा ललाइफकाई र करपाक गरी विभिन्न बाहनामा ओसारपसार गर्नु कानुनी अपराध भएकाले यसको न्यूनीकरणका लागि चौतर्फी सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
मानव बेचविखनका एजेन्टहरू चौतर्फी रूपमा फैलिएको हुँदा भारत हुँदै खाडी मुलुकसम्म मानव बेचबिखन गर्नमा दलालहरूको सञ्जाल सक्रिय रहेको बताउँदै प्रायजसो १५ देखि ४० वर्ष उमेर समूहका महिला तथा युवतीहरुलाई बढी लक्षित गरिँदै आएकाले सचेत हुनुपर्नेमा संयोजक पासवानले जोड दिनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का अधिकृत मनमाया मगरले खुल्ला सीमा नाकाले गर्दा समेत मानव बेचबिखनका घटनादेखि महिला हिंसा र अपराधका घटना गरेर भारततर्फ जाने प्रवृत्ति बढेको बताउनु भयो ।
यस्ता अपराधिक घटनाहरूको न्यूनीकरणका लागि स्थानीय सरकारले समेत खुल्ला सीमा नाकाहरूमा निगरानी बढाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।
दिपेन्द्रप्रसाद सिंह