मानव बेचबिखन रोकथाममा सम्वेदनशीलता हुन जरुरी : प्रशासकीय अधिकृत कोइराला
दैलेख । २०८० भदौ २१ गते
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले मानव बेचबिखन अति गम्भीर अपराध रोकथामका लागि समाजका सबै क्षेत्र सम्वेदनशील हुनुपर्ने बताउनुभएको छ । गरिबी, अशिक्षा, अज्ञानता र अभावले मानव बिखन अझैं जोखिम बढेको उहाँले समस्या दर्शाउनुभयो । १७ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा इन्सेक लगायतका सरोकारवालाहरुको संयुक्त आयोजनामा भदौ १९ गते नारायण नगरपालिका–८ तर्ताङ्गमा आयोजित सचेतना कार्यक्रममा प्रशासकीय अधिकृत कोइरालाले सो कुरा भन्नुभएको हो । नारायण नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख गोमा केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर दिपक मगराठी, सोसेक नेपालको बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठले मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस र सजगताको आवश्यकता विषयमा प्रकाश पार्नुभएको थियो ।
त्यसबखत अनौपचारिक क्षेत्र सेवा केन्द्र दैलेखका किशोरी आत्मरक्षा अभियानका सहजकर्ताहरु कृष्णकला थापा र भद्रा बस्नेतले यौनजन्य दुव्र्यवहारको पहिचान र बलात्कारजन्य घटनाबाट जोगिने तरिका विषयमा अभिमुखीकरण तथा नमूना अभ्यास प्रस्तूत गर्नुभएको थियो । किशोरी आत्मरक्षा अभियानका सहजकर्ताहरु कृष्णकला थापा र भद्रा बस्नेतले भदौ १९ गते सरस्वती मावि झुप्रेसालमा किशोरीहरुका लागि आत्मरक्षा सीप बारे अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणपछि कार्यक्रममा सहभागी छात्राहरुले पनि नमूना अभ्यास गरेका थिए ।
सुनिता सुनार