








जुम्ला । २०८० भदौ २१ गते
इन्सेकलगायत सरोकारवाला निकायको समन्वयमा मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसमा र्याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी भदौ २० गते जुम्लामा सम्पन्न भएको छ । जिल्ला स्थित राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, पेस नेपाल, नेपाल पत्रकार महासंघ शाखा जुम्ला, प्रहरी प्रशासन, किर्डाक र सर्बाेदय नेपाललगायत सरोकारवाला निकायको समन्वयमा दिवस मनाएको हो । सन् २००२ मा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को ११ औँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई वि.स. २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन गरेको दिनको स्मरणमा नेपाल सरकारले हरेक वर्ष भदौ २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ । यस वर्ष सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूल भन्ने राष्ट्रिय नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाएको हो । रचनात्मक, सृजनात्मक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनु भयोे । उहाँले भन्नुभयो यस वर्ष दिवसको अवसरमा भदौ २० गते खलंगामा सचेतना र्यालीसहित अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा डिएसपी प्रल्हाद कार्कीले जुम्लामा मानव बेचबिखनसम्बन्धी दुई ओटा मुद्दा मात्रै दर्ता भएको बताउनु भयो । उहाँले भन्नुभयो आर्थिक वर्ष ०७४/०७५ मा एक वटा र ०७७/०७८ मा एक ओटा मुद्दा गरी दुई ओटा मुद्दा दर्ता भएको तथ्याङ्कमा देखिन्छ । मानव बेचबिखनसम्बन्धी गाउँ समाजमा सचेतीकरणको खाँचो रहेको देखिन्छ । राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख धनराज शाहीका अनुसार सामाजिक क्षेत्रको विकासमा स्थानीय सरकार उदासिन देखिन्छ । भौतिक विकासलाई बढवा दिएका स्थानीय सरकारले सामाजिक विकासलाई सामान्य रुपमा हेर्ने गरेको पाईन्छ । उहाँले भन्नुभयो गाउँ समाजमा कुरीतिविरुद्धका सचेतीकरण गर्नुपर्ने क्षेत्रहरु धेरै छन् । तर स्थानीय सरकारले सामाजिक विकास क्षेत्रमा न्यून बजेट विनियोजन गर्ने र जनशक्ति नै परिचालन गरेको पाईदैन । जसका कारण सामाजिक मुद्दा राज्यका निकायको प्रथामिकतामा पर्ने गरेका छैनन् ।
मानदत्त रावल