








सुर्खेत । २०८० भदौ २१ गते
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति, सुर्खेतको आयोजना तथा इन्सेकको समन्वयमा भदौ २० गते वीरेन्द्रनगरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं राष्ट्रिय दिवस प्रभातफेरि र अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । अन्तरक्रिया कार्यक्रमका सरोकारवालाहरुले मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटनाहरु बढ्नुको मुख्य कारण गरिबी र अशिक्षा रहेको बताउनुभयो । २००७ सालभन्दा अघि नेपालमा पनि दास प्रथा रहेको भन्दै समाजलाई परिवर्तन गर्ने कुरामा नागरिक र राज्य दुबैको उत्तिकै दायित्व रहेको बताउनुभयो । मानव अधिकार मानिसका लागि सर्बोच्च अधिकार रहेको बताउँदै कानुनी राज्यमा त्यसको रक्षा गर्नु राज्यको दायित्व रहेको उहाँको भनाइ छ । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले समाजमा मानव बेचबिखनका घटनाहरु बढिरहेको र सचेतनाका कारण पीडितले पीडा बाहिर ल्याउन नसकेको बताउनुभयो । त्यसरी समाजमा लुकेर रहेका घटनाहरु बाहिर ल्याई पीडकलाई कारबाहीको दायरामा ल्याउनु सबैको कर्तव्य रहेको प्रमुख सुनारले बताउनुभयो । मानव अधिकारको रक्षा र आपराधिक घटनाका विषयमा गाउँ गाउँमा सचेतना फैलाउन सके त्यस्त घटनामा कमी आउने प्रमुख सुनारको भनाइ छ । त्यस्तै गरी जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी योगेन्द्र सिंह थापाले नेपालमा मानव बेचविखन तथा ओसारपसारको अवस्था, त्यस सम्बन्धी बनेका ऐन कानुन र यसको न्यूकिरणसम्बन्धी प्रस्तुतीकरण मार्फत जानकारी दिनुभयो । उहाँले मानव बेचविखन तथा ओसारपसारको मुख्य कारण बेरोजगारी र गरिबी भएको बताउनुभयो । त्यस्ता क्रियाकलाप विरुद्ध प्रहरीले विभिन्न कार्यक्तमहरु समेत गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सुर्खेत्मा पछिल्लो तीन वर्षमा सात वटा मानव बेचविखन तथा ओसारपसार सम्बन्धीका मुद्दाहरु प्रहरीसँग आएका छन् । जसअनुसार आर्थिक वर्ष ०७६/०७७ मा एक ,०७७/०७८ मा एक, ०७८/०७९ मा दुई र ०७९/८० मा तीनवटा मुद्दाहरु आएका हुन् । समुदायमा घटना घटेपनि पीडा बाहिर नल्याउनाका कारण प्रहरी यस्ता घटनाहरु आउन नसकेको उहाँको भनाइ छ । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानव बेचविखनको जालो ठुलो हुनेभएकोले त्यसलाई तोड्न सबै निकायहरुको महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।अशिक्षा र गरिबीको मौकामा बेचबिखन गर्नेहरुको समुहले राज्यलाई नै चुनौती दिने गरेको भन्दै त्यसका विरुद्ध एकजुट भएमात्रै मानवअधिकारको रक्षा हुने उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल र आवाज संस्था सुर्खेतकी प्रतिनिधि निसा पौडेलले दिवसका अवसरमा हुने कार्यक्रमसँगै अन्य कार्यक्रमहरु गर्न सरकारले विषेश नीति तथा कार्यक्रम ल्याउनुपर्नेम जोड दिनुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला स्थित सरकारी कार्यालय, बालसमुह, किशोरी समुह, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जगतदल जनाला विक