मिथिला नगरपालिकामा जनचेतनामूलक सडक नाटक प्रदर्शन

धनुषा । २०८० असार ८ गते

मिथिला नगरपालिका–९ बेगांडावरको बडहरी बजारमा स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन असार ७ गते सडक नाटक प्रदर्शन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालय ढल्केबरमा गठन गरिएको बाल अधिकार सचेतना समूहका सदस्यहरू स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन सडक नाटक प्रदर्शन गरेको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा बाल अधिकार समूहले प्रदर्शन गरेको सो सडक नाटक हेर्न सयौंको संख्यामा स्थानीयहरूको भीड थियो । सडक नाटक प्रदर्शनको क्रममा कलाकारहरूले छोरीको शिक्षामा गरिने भेदभाव, शिक्षामा सबैको समान पहुँच, जातीय छुवाछुत, मानवीय उपचारमा हुने लापरवाही, वातावरणीय सरसफाइ, र विभिन्न प्रकारका हिंसाविरुद्ध अभिनय मार्फत समाजमा सचेतना जगाउन सन्देश प्रवाह गरेको इन्सेकका जिल्ला सहजकर्ता अनिता यादवले बताउनु भयो ।

  

यता, सो सकड नाटक हेरेपछि मिथिला नगरपालिका–९ का स्थानीय अनिता परियारले समाजमा व्याप्त रहेको विभिन्न किसिमका भेदभाव्, छुवाछुत, छोरा छोरीको शिक्षामा अभिभावकद्वारा गरिने असमान व्यवहार, सरसफाइको अभावमा हुने असर लगायतको विषयलाई महत्त्वका साथ उठान गरेकोले समाजको आँखा खोल्न यस्ता सडक नाटक ठाउँ ठाउँमा गर्न आवश्यक रहेको बताउनु भयो । सडक नाटक प्रदर्शन कार्यक्रमलाई सहजिकरण गर्न र बालबालिकाको प्रतिभालाई उकास्न इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन बरुण बस्याल सहित मानव अधिकार शिक्षा कार्यक्रम का केन्द्रिय फोकल पर्सन सोना प्याकुरेलको समेत उपस्थिति रहेको थियो । मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको कार्यक्रम धनुषाको मिथिला नगरपालिका र बटेशवर गाउँपालिका मा चल्दै आएको छ । 

अजयकुमार साह