मिथिला नगरपालिका ढल्केवरमा मानव अधिकार समूहको बैठक सम्पन्न

धनुषा । २०८० असोज ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८० असोज ६ गते धनुषाको मिथिला नगरपालिका ढल्केवर स्थित कृषि बजारको हलमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । मिथिला नगरपालिकामा गठित मानव अधिकार समूहका अध्यक्ष मोहन कुमार महतोको अध्यक्षतामा बैठक बसेको हो । मिथिला नगरपालिकामा देखिएका मानव अधिकार हनन तथा ज्यादतीको घटनाका बारेमा छलफल गरी पालिका भित्र विभिन्न दिवसहरूमा मानव अधिकारसँग सम्बन्धित कार्यक्रम एवं अभियानहरू सञ्चालन गर्ने, आर्थिक वर्ष ८०/८१ मा शिक्षा, स्वास्थ्य, वातावरणसँग सम्बन्धित क्षेत्रमा अनुगमन गरी प्रतिवेदन तयार पारी स्थानीय तहमा बुझाउने, प्रत्येक महिनाको पहिलो शनिबार मानव अधिकार समूहको बैठक गर्ने, मिथिला नगरपालिकामा हालसम्म प्राङ्गारिक मल उत्पादन र प्रशोधन केन्द्रको स्थापना नभएकोले सोको स्थापनाका लागि मिथिला नगरपालिका समक्ष अनुरोध र ध्यानाकर्षण गराउने, मानव अधिकारमैत्री आवधारणा पत्र कार्यान्वयनका लागि नगरपालिकामा दाबी र ध्यानाकर्षण पत्र बुझाउने मानव अधिकार समूहको बैठकले निर्णय गरेको छ ।

उक्त बैठकमा मिथिला नगरपालिकाका मानव अधिकार समूहका उपाध्यक्ष सुशीला देवी क्षेत्री ,सदस्य दिवेश महतो, केशवराज महतो, सुमनी दास, अनिता कुमारी दास, प्रविन कुमार ठाकुर, पशुपति महतो , श्रीराम यादब, मनोज कुमार यादब, कल्पना कडारी, ललिता महतो, सुनिता लोहनी र मानव अधिकार समूहको सदस्य विना कडारीको सहभागिता रहेको थियो । बैठकको सहजीकरण अनौपचारिक सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका सहायक अधिकृत बरुण बस्यालले गर्नु भएको थियो ।

सन्तोष कुमार यादब