यातायात व्यावसायीलाई नियमन गर्ने प्रतिबद्धता : प्रमुख जिल्ला अधिकारी सापकोटा

सुर्खेत । २०८० असार २५ गते

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले यातायात व्यावसायी तथा सार्वजनिक सवारीका साधनहरुलाई नियमन गर्ने बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले ०८०असार २५ गते वीरेन्द्रनगरमा आयोजना गरेको अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र विद्यार्थीहरुलाई सार्वजनिक सवारी साधनहरुमा प्रदान गरिएको सुविधा र कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा बोल्दै प्रजिअ सापकोटाले सो कुरा बताउनु भएको हो । कानुनमा व्यवस्था गरिए बमोजिम अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र विद्यार्थीहरुलाई भाडा तथा आरक्षणको छुट नदिएको भन्ने सुचना प्राप्त हुनासाथ त्यस्ता यातायात व्यावसायी एवम सवारी साधनहरुलाई कारवाहीको दायरामा ल्याउने प्रजिअ सापकोटाले प्रतिबद्धता जनाउनु भयो । राज्यबाट कर लगायतका सुविधा लिने सर्वाजनिक सवारीका साधन तथा यातायात व्यावसायीहरुले  ऐन कानुनमा तोकिएको सेवा सुविधा उपलब्ध गराउन बाट पन्छिन नमिल्ने चर्चा गर्दै प्रजिअ सापकोटाले छुट पाईएन भनी गुनासो गरेर मात्र हुदैन सम्बन्धित सरोकारवालाहरु समक्ष उजुरी गर्न पनि सेवाग्राहीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी रामप्रकाश शाहले प्रचलित ऐन कानुनको आधारमा अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र विद्यार्थीहरुलाई भाडा छुट र आरक्षण सिटको व्यवस्थापन गर्नका लागि प्रतिबद्ध भई लाग्ने बताउनु भयो । वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाङ्गीले नियामक निकायहरुको समन्वयमा अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र विद्यार्थीहरुलाई भाडा छुट र आरक्षण सिट प्रणाली लागु गर्न नगरपालिका तत्पर भई लाग्ने उल्लेख गर्नु भयो ।

उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेंलले बजार क्षेत्रका सडकहरुमा राखिएका होर्डिङ्ग बोर्ड र व्यावसायिक बोर्डहरुको व्यवस्थापन गरी अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुको हिंडडुलमा सहजता ल्याउनका लागि पहल गर्ने बताउनु भयो । महिला अधिकारकर्मी सितलासिं राठौरले अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, विशेष अवस्थामा महिला र  विद्यार्थीहरुलाई दिईने सेवा उपलब्ध गराउने प्रमुख दायित्व राज्यको रहेको बताउनु भयो । कार्यक्रममा सहभागी जेष्ठ नागरिक कृष्णप्रसाद भट्टराई, बालकृष्ण श्रेष्ठ, लक्ष्मी खडका अपाङ्गता भएका व्यक्ति जीतलाल ढकाल, वसन्त जैसी, सुरेश खडका, धर्मराज रावत तथा विद्याथीहरु इमुना सापकोटा र पवित्रा भियांलले राज्यबाट कर लागायतका सुविधा लिने यातायात व्यावसायीहरुले राज्यबाट कुनै सहुलियत नपाउको भनी भाडा छुट र आरक्षण सिट उपलब्ध नगराउने गरेको गुनासो पोखेका थिए । संयुक्त बस व्यावासयी समिति सुर्खेतका संयोजक टिकाराम सिंह ठकुरीले  जिल्लामा रहेका ११ वटा समितिलाई यस बारेमा जानकारी गराई भाडा छुट र आरक्षण सिटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो । यसै गरी कार्यक्रममा तीन बुँदे प्रस्ताव समेत पारित गरेको इन्सेकका कार्यक्रम अधिकृत परिष्कृत पौडेलले बताउनु भयो । जिल्ला स्थित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी, यातायात व्यावसायी र सञ्चारकर्मीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रमको उद्देश्य माथि इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले प्रकाश पार्नु भएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सर्खेत