युपीआर, एसजिडी र एनएचआरपीमा महिला अधिकारसम्बन्धी प्रावधान सम्बन्धमा अन्तरसम्वाद सम्पन्न

कैलाली । २०७८ मङ्सिर २३ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्याय र राष्ट्रिय मानव अधिकार आयोग, धनगढीको सयुक्त आयोजना तथा  वेदकोट नगरपालिकाको समन्वयमा ‘‘घरबाट सुरु गरौं, महिला  हिंसा  अन्त्य गरौं’’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा युपीआर, एसजिडी र एनएचआरपीमा महिला अधिकारसम्बन्धी प्रावधान बारे अन्तरसम्वाद कार्यक्रम मङ्सिर २३ गते  वेदकोट नगरपालिकामा सम्पन्न भएको छ ।

वेदकोट नगरपालिकाका उपप्रमुख रामदुलारी रानाले दैनिक ज्याला मजदरी गरेर गुजारा गर्ने समुदायमा जनचेतनाको अभावमा महिला हिंसाका घटना बढी हुने भएकाले नगरपालिकाले महिलाहरुको समुह गठन गरी मदिरा नियन्त्रण गर्ने, जनचेतनामूलक अभियान सञ्चालन गर्ने, महिला समुह गठन गरी निगरानी गर्ने, महिलाहरुलाई आर्थिक क्षेत्रमा शसक्तिकरण गर्न शिपमूलक तालिम तथा उद्योमशिलता तालिम सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले वेदकोट नगरपालिकालाई हिंसामुक्त घोषणा गर्ने तयारीमा समेत भइरहेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मोहनदेव जोशीले विश्वव्यापी आवधिक समिक्षाका क्रममा महिलामाथि भइरहेका हिंसाका घटनाहरु र लैङ्गिक विभेदको अन्त्यका लागि नेपाल सरकारलाई सुझावहरु दिएकोले उक्त सुझावहरु तीनै तहका सरकारले कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । उहाँले दिगो विकास लक्ष अन्तर्गत लक्ष नम्बर पाँचमा लैङ्गिक समानता र पाँचौ पञ्चवर्षिक कार्य योजनामा पनि महिलाहरुको शसक्तिकरण, सहभागिता तथा अवसरको सुनिश्चितता गर्नु पर्ने उल्लेख भएकोले सोही अनुसार संघिय, प्रादेशिक र स्थानीय सरकारले योजना बनाएर कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले मानव अधिकारको संरक्षण, सम्वद्र्धन र परिपुर्ति गर्ने प्रमुख दायित्व राज्यको भएकोले महिला अधिकारको संरक्षण र सम्वद्र्धनका लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने बताउनु भयो । उहाँले महिलाको अधिकारको संरक्षणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरु समेत निर्माण भएको भएपनि प्रभावकारी कार्यान्वयनको अभावमा अहिले पनि महिलाहरुले न्याय पाउन नसकेको बताउनु भयो । वेदकोट  नगरपालिकाका कार्यपालिका सदस्य गंगोत्री जोशीले वेदकोट  नगरपालिकामा महिला हिंसाका घटना  न्यूनिकरण गर्न शिशु स्यहार तथा पोषण कार्यक्रम सञ्चालन गरिएको, व्यक्तिगत घटना दर्ताका काम भइरहेका र मानव अधिकार निगरानी समुहले हिंसामा परेका महिलाहरुलाई सहयोग गर्दै आएको बताउनु भयो ।

वेदकोट नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अमर महराले महिला हिंसाका घटनामा न्यूनिकरण गर्न बालविवाहबाट परेको प्रभावका बारेमा घरपरिवारमा बालबालिकाहरुलाई लैङ्गिक हिंसा विरुद्धको शिक्षा दिन आवश्यक रहेको बताउनु भयो । वेदकोट नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख राधिका पन्तले स्रोतसाधनको कमीले हिंसा पीडित महिला तथा बालबालिकाहरुका लागि सेफ हाउस सञ्चालन गर्न नसकेको स्विकार गर्दै नगरपालिकाले पीडित महिलाहरुका लागि सुरक्षित गृहको व्यवस्थापन गरिदिएको खण्डमा महिलाहरुले न्याय पाउन सहज हुने बताउनु भयो । वेदकोट नगरपालिका–७ का वडाध्यक्ष बिरबहादुर डगौराले महिला हिंसा बढ्नुको कारण अशिक्षा, बेरोजगारी,  चेतनाको कमी, लागुऔषधको प्रयोग भएको बताउनु भयो । उहाँले नगरपालिकाका आगामी योजना र कार्यक्रम जनचेतनामूलक कार्यक्रम र शिक्षामा बढी केन्द्रीत हुनु पर्ने बताउनु भयो ।

मैनामोती चौधरी