यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चिततामा जोड

सुर्खेत । २०७७ मङ्सिर ३० गते

यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चित गर्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर ३० गते भर्चुअलमार्फत आयोजना गरेको दलित, महिला, सिमान्तकृत समुदाय र यौनिक अल्पसंख्यकहरूको अधिकार मुलप्रवाहीकरण कार्यशालामा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । सहभागीहरूले युगौंदेखि राज्य, समाज र घरपरिवारबाट अपहेलित हुन पुगेका यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चितताका लागि राज्य, नागरिक समाज र घरपरिवार जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका थिए ।यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चित गर्न उनीहरूको पहिचानलाई मान्यतादिई समाजमा खुला रूपमा घुलमिलहुने वातावरण सिर्जना गर्न सबै पक्ष लाग्नुपर्नेमा सहभागीहरूको जोड थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले दलित, महिला, सिमान्तकृत समुदाय र यौनिक अल्पसंख्यकहरूको अधिकारलाई मुलप्रवाहीकरणमा ल्याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताउनु भयो । दलित, महिला र सिमान्तकृत समुदायको अधिकारको मुलप्रवाहीकरणको विषयमा अधिकारकर्मी सुशिल चौधरी तथा यौनिक अल्पसंख्यकहरूको अधिकारको मुलप्रवाहीकरणको विषयमा परिना चौधरीले सहजीकरण गरेको कार्यशालामा दलित, महिला, सिमान्तकृत समुदाय, यौनिक अल्पसंख्यक, नागरिक समाज र सञ्चारकर्मी गरी २९ जनाको सहभागिता रहेको थियो ।

दुर्गा थापा