यौनिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित हुने कानुन निर्माण गर्ने प्रतिबद्धता
सुर्खेत । २०७७ कात्तिक २६ गते
कर्णाली प्रदेश सभाका सदस्य राजु नेपालीले यौनिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित हुने कानुन निमार्ण गरिने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कात्तिक २६ गते वीरेन्द्रनगरमा सम्पन्न ‘दलित, महिला र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि दुई दिने मानव अधिकार सशक्तिकरण तालिम’ मा बोल्दै प्रदेश सभा सदस्य नेपालीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । युगौँदेखि समाज तथा घरपरिवारबाट अपहेलित यौनिक अल्पसङ्ख्यकहरूलाई समाजमा घुलमिल भई उनीहरूको अधिकार स्थापित गर्नका लागि कर्णाली प्रदेश सभा लागिपर्ने प्रदेश सभा सदस्य नेपालीले बताउनु भयो ।
दलित, महिला, सिमान्तकृत समुदाय तथा यौनिक अल्पसङ्ख्यकहरूको मानव अधिकार परिपुर्ति नगरिएसम्म समग्र विकासको परिकल्पना गर्न नसकिने चर्चा गर्दै उनीहरूको अधिकार स्थापित गर्न कर्णाली प्रदेश सभाले आवश्यक नीति बनाई अघि बढने सदस्य नेपालीले जानकारी दिनु भयो । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले तालिमको उद्देश्य माथि प्रकाश पार्दै दलित, महिला, यौनिक अल्पसङ्ख्यक, सिमान्तकृत समुदाय, लोपोन्मुख जाति र धार्मिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चितता नभएसम्म मानव अधिकारको परिपुर्ति हुन नसक्ने बताउनु भयो ।
दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय उपमहासचिव सञ्जुसिं विश्वकर्माले नेपालको तथा ऐन कानुनहरूमा गरिएको व्यवस्था अनुरुप दलित, महिला, यौनिक अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदायका अधिकारहरू सुनिश्चितताका लागि राज्यपक्ष गम्भीर बन्नुपर्ने धारणा राख्नु भयो । तालिममा दलित, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, धार्मिक अल्पसङ्ख्यक, लोपोन्मुख जाती, सिमान्कृत समुदायका गरी २२ जनाको सहभागिता रहेको थियो ।
दुर्गा थापा