यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू
रसुवा । २०८० मङ्सिर १७ गते
पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र इन्सेक लगाएत विभिन्न सङ्घ संस्थाको समन्वयमा भएको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला समन्वय समिति, रसुवाको सभाहलमा भएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारको वकालतका लागि स्थानीय तहका सरोकारवालाहरूको संवेदनशीलता बारे छलफल कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अशेककुमार घिमिरेले बताउनु भयो । उहाँले नीति निर्माण भएर मात्र नहुने बनेका नीति नियमको कार्यन्वयन र सो बारे जनचेतना आवश्यक पर्ने बताउनु भयो । उत्तरगया गाउँपालिकाकी कार्यबाहक अध्यक्ष चमेली गुरुङले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान हुन नसकेको बताउँदै उनीहरूको पहिचान गरेर आर्थिक सशक्तिकरण गर्ने बताउनु भयो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारका बारेमा सबैले आवाज उठाउन आवश्यक रहेको बताउँदै इन्सेकका जिल्ला प्रतिनिधि तथा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष हेमनाथ खतिवडाले उनीहरूको अन्य लेखेर नागरिकता पाउनेलगायतका अधिकार प्राप्तिका लागि आवाज उठाउन आवश्यक रहेको बताउनु भयो । अझै पनि उनीहरूको आवाजलाई राज्यले वेवास्ता गरेको बताउँदै स्थानीय तहले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका पक्षमा नीति निर्माण गर्नु पर्ने बताउनु भयो । खतिवडाले भन्नुभयो,‘संविधानका उल्लेख गरिएका विषयवस्तु पनि संविधान निर्माणको आठ वर्ष बितिसक्दा पनि कानुन नबन्नु र कार्यान्वयन नहुनु दुःखद पक्ष हो ।’

समावेशी मञ्चका केन्द्रीय अध्यक्ष दिलु बुदुजा (बद्री पुन) ले आफू तेस्रो लिङ्गी भएकै कारण भोग्नु परेको सामाजिक एवम् राजनैतिक हिंसा तथा विभेदका बारेमा अनुभव सुनाउनु भयो । अहिले पनि राज्यले अन्य लेखेर नागरिकता प्रदान गर्न आनाकानी गरेर नीतिको उपहास गरिरहेको उहाँले बताउनु भयो । पहिचानका आधारमा नागरिकता तथा अधिकार सुनिश्चितता हुनुपर्नेमा उहाँले जोडदिनु भयो । कार्यक्रममा मञ्चका उपाध्यक्ष गङ्गा थापाले यौनिक तथा अल्पसङ्ख्यकको अधिकार बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कालिका गाउँपालिका–५ का यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सिसम तामाङले समाज तथा सरकारी तहबाट सम्पादन हुने कार्यमा अधिकारका बारेमा सवैले आवाज उठाउन आवश्यक रहेको बताउँदै गाउँगाउँमा जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा समावेशी मञ्च, नेपालका कल्पना सापकोटा, पत्रकार सुशील कोइराला, शिक्षक पार्वती खनाललगायतका सहभागिहरूले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत राम्रो कार्यक्रम भएको र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
HUMAN RIGHTS NEWS PORTAL






