राष्ट्रिय बाल दिवसमा प्रभातफेरी र हस्ताक्षर सङ्कलन
सप्तरी । २०८० असोज १ गते
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको शभ्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा भदौ २९ गते प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान सम्पन्न भएको छ ।शम्भुनाथ नगरपालिका–३ स्थित रामदयाल माध्यमिक विद्यालय सखुवा कचन्दाहामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित उज्जवल भविष्य बाल अधिकार सचेतना समूह र डाक्नेश्वरी नगरपालिका–१० स्थित हिरा फेकनी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान गरेको हो । बालविवाहमुक्त समाज निर्माणका लागि इन्सेकको सहयोगमा सचेतना समूहले प्रभात फेरी गर्दै बालविवाह नगर्ने र अरुलाई पनि नगर्न अनुरोध गरेका छन् । बालबालिकाको आग्रहमा अभिभावकहरूले पनि छोराछोरीको बालविवाह नगराउने प्रतिबद्धता गरे ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए । सहभागीहरूले बालविवाहले गर्दा धेरै किसिमका बाल अधिकार हनन् हुने र हिंसामा पर्ने भन्दै सभ्य र सुसंस्कृत समाजका लागि बालबालिकाको भविष्य सुरक्षित गर्न बालविवाह रोक्नु पर्नेमा जोड दिए । उनीहरूले बाल अधिकार संरक्षण तथा सम्बद्र्धनका लागि ऐन, कानुन, नीति, नियम र कार्यविधिहरूको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने धारणा राखे । यसैगरी जिल्लाको विभिन्न पालिकामा कार्यपालिका, गैर सरकारी संस्था र विद्यालयहरूले विभिन्न सचेतनामूलक कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएका छन् ।
मनोहरकुमार पोखरेल