








कास्की । २०८१ वैशाख २३ गते
महिलाको शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्तावना नम्बर १३२५ र १८२० कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन, अभिमुखीकरण तथा स्थानीय समिति गठन कार्यक्रम वैशाख २१ गते सम्पन्न भएको छ । रुपा गाउँपालिका र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा रुपा गाउँपालिकामा उक्त समिति गठन गरिएको हो । जिल्ला समन्वय समितिका उपप्रमुख सरिता मालले अहिले राज्यका निकायहरुमा महिला सहभागिता निकै कम रहेको बताउनुभयो । उहाँले महिलाहरुको उपस्थितिलाई अनिवार्य ३३ प्रतिशत पुर्याउन महिला सहभागिता बढाउनुपर्ने बताउनुभयो । उहाँले समाजमा जबसम्म महिला माथिका विभेद हट्दैन, तबसम्म समृद्ध नेपालको सपना पुरा हुन नसक्ने बताउनुभयो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महिलाको सहभागिता वृद्धिका लागि पालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले स्थानीय समिति मार्फत प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्तावना नम्बर १३२५ र १८२० सम्बन्धी दाेस्राे राष्ट्रिय कार्ययोजना २०७९/०८० र ०८१/०८२ ले महिलाको सहभागिता सुरक्षा र रोकथाम, राहत तथा परिपूरण र क्षमता विकास गर्न राज्यले पनि स्रोत व्यवस्थापन, अनुगमन तथा मुल्याङ्कनलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । इन्सेक गण्डकी प्रदेशकी फोकल पर्सन सवनम शर्माले प्रस्तावना नम्बर १३२५ ले द्वन्द्व समाधान र शान्ति प्रक्रियाका लागि नीति निर्माणका तहमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वको रोकथाम, व्यवस्थापन तथा महिलामाथि हुने द्वन्द्वको समाधानका लागि स्थानीय महिलाहरुले चलाएको अभियान तथा मौलिक अभियानलाई सहयोग गर्ने र शान्ति स्थापनामा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमबाट रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा, उपाध्यक्ष लालसुब्बा गुरुङ सहित सबै वडाक अध्यक्ष, द्वन्द्व पीडितहरुकाे तर्फबाट वडा नम्बर ३ की खिमादेवी बास्तोला, वडा नम्बर १ बाट पुष्ष खनाल र पालिकाका सबै विषयगत शाखाका प्रमुखहरु र स्थानीय प्रहरी चाैकीका इन्चार्ज सदस्य रहने गरि १५ सदस्यीय स्थानीय समिति गठन गरेकाे छ ।
सन्जय रानाभाट