रूपा गाउँपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई दिने तालिम सुरू

कास्की । २०७८ भदौ १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार समूहका सदस्य र सरोकारवालाहरूका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी दुई दिने तालिम रूपा गाउँपालिकामा सुरू भएको छ । कियोस परियोजना अन्तर्गत भदौ १६ र १७ गते सञ्चालन हुने उक्त तालिममा मानव अधिकार समूहका सदस्य, जनप्रतिनिधि र सरोकारवालाहरू सहभागी रहेका छन् । तालिमको उद्धघाटन गर्दै रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले मानवीय विकास स्थानिय सरकारको प्राथमिकतामा रहनुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार विकाससँगै मानवीय विकासलाई पनि गाउँपालिकाले सँगसँगै अगाडि बढाइरहेको बताउँदै इन्सेकसँगको सहकार्यका विगतका वर्षदेखि शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा हुदैं आएका अभियान र छलफल परिणामुखी बनेको बताउनुभयो । आफ्ना अधिकारका विषयमा नागरिकहरूको चासो र सक्रियताको खाँचो उहाँले औल्याउनुभयो । उपाध्यक्ष गुरुङले पहिलो वर्ष नागरिकहरू अझै पनि न्यायिक समितिका काम कर्तव्य र अधिकारका बारेमा अन्यौल रहेपनि पछिल्ला दिनहरूमा चासो बढेको बताउँदै नागरिकहरूलाई न्यायिक समितिसँग जोड्ने र यसको महत्वबारे छलफल चलाउन भूमिका खेलेको भन्दै इन्सेकलाई धन्यवाद समेत दिनुभयो । उहाँले अबका दिनहरूमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष गुरुङले महिला अधिकारका सवालमा स्थानिय सरकार विषयमा सहजीकरण समेत गर्नुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका निर्देशक चन्द्रकान्त चापागाईले ग्रामिण क्षेत्रमा स्वास्थ्य र खाद्य अधिकारका विषयमा अझ बढी समस्या देखिने गरेको बताउनुभयो । बजार अनुमगन नहुने हुँदा नागरिकहरूले अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरू उपयोग गर्ने, अस्पतालहरूमा निःशुल्क प्राप्त गर्ने औषधिको अभाव जस्ता विषयलाई मानव अधिकार समूहले निगरानी गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले मानव अधिकारको अवधारणा सिद्धान्त र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार अनुमगन विषयमा सहजीकरण समेत गर्नुभएको थियो । अधिवक्ता गिरधारी सुवेदीले न्यायिक समिति र मानवअधिकार विषयमा सहजीकरण गर्दै न्यायिक समिति प्रति जनताको विश्वास बढाउन आवश्यक रहेको बताउनुभयो ।

मानव अधिकारको सुनिश्चिताका लागि न्यायिक समितिको भूमिका पनि महत्वपूर्ण हुने भएकाले न्यायिक समितिको काम कर्तव्य र अधिकारका विषयमा नागरिकहरू सुसुचित हुन नसकेको बताउनुभयो । मानव अधिकार समूहका अध्यक्ष तिलबहादुर खड्काले रूपा गाउँपालिका भित्रका नागरिकहरूलाई मानव अधिकारका बारे सचेत र जागरूक बनाउने काममा आफूहरू लाग्ने बताउनुभयो । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खुकरेलले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबैको साझा सवाल भएको बताउनुभयो । उहाँले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चितताको लागि स्थानिय सरकार, मानवअधिकार समूह साथै सरोकारवालाहरूको आवश्यक रहेको भनाइ राख्नुभयो । उहाँले मानव अधिकार विकास पद्धतीका विषयमा सहजीकरण गर्नुभएको थियो । इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले इन्सेकले मानव अधिकारका क्षेत्रमा गर्दै आइरहेका कार्यक्रमहरूका बारेमा जानकारी गराउनुभएको थियो ।

सुशन घिमिरे