लैंङ्गिक हिंसा तथा जातीय विभेद अन्त्य गर्न गाउँमै कानुनी सचेतना कार्यक्रम सम्पन्न

कालीकोट । २०८० साउन ४ गते

लैङ्गिक हिंसा तथा जातीय विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि कालिकोटका विकट दलित वस्तिहरुमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेकद्वारा गठित मानव अधिकार रक्षक जिल्ला सञ्जालको आयोजनामा लैंङ्गिक हिंसा तथा जातीय विभेद अन्त्य गर्न  खाँडाचक्र नपा–२ पिपलमाडु गाउँमा  कानुनी सचेतना कार्यक्रम साउन ३ गते सम्पन्न भएको हो । ‘जातीय विभेदको अन्त्य गरौं,लैङ्गिक हिंसाबाट पीडित भएकाहरुलाई कानुनको पहुँचमा पुगाउँ’ भन्ने नारासहित आयोजना गरिएको सचेतना कार्यक्रममा कार्यस्थलमा हुने जातीय विभेद,महिलामाथि हुने हिंसा,छाउपडिप्रथा, यौन हिंसाका विषयमा छलफल गरिएको छ ।

सचेतना कार्यक्रममा जिल्ला स्तरिय सिफारिस संयन्त्रका संयोजक एवम नेपाल बार एसोसिएसन कालिकोटका अध्यक्ष अमलराज शाहीले लैंङ्गिक तथा यौन हिंसा गर्नेलाई कानुनी सजाय,जातीय भेदभाव उन्मुलनसम्बन्धी ऐन कानुनका विषयमा छलफल गर्नु भएको थियो । यस्तै गरी , उहाँले घरेलु हिंसा कसुर सजाय ऐन,बालबालिका माथि हुर्ने दुव्र्यवहार यसको नियन्त्रणका बारेमा बताउनु भएको थियो । कार्यक्रममा विभिन्न प्रकारका हिंसाका घटनामा परी पीडित भएका विपन्नहरुलाई छिटो छरितो न्यायको पचसम्म पुग्नका लागि सिफारिस संयन्त्रको गठन भएको र यसका काम कर्तव्यका बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा खाँडाचक्र नपा–२ पिपलमाडु दलित विपन्न बस्तीका स्थानीय महिला,युवा र किशोरी लगायतको सहभागिता रहेको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सर्खेत