लैङ्गिकताको सवालमा मिडियाको भूमिका विषयक संवाद कार्यक्रम सम्पन्न
कास्की । २०८० फागुन २४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पत्रकार महासंघ कास्की, सञ्चारिका समूह गण्डकी र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको संयुक्त आयोजनामा फागुन २४ गते ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा लैङ्गिकताको सवालमा मिडियाको भूमिका विषयक सम्वाद फागुन २४ गते सम्पन्न भएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारी र इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सबनम शर्माले पत्रकारलाई महिला मैत्री पत्रकारीता कसरी गर्ने सन्दर्भमा प्रस्तुतीकरण दिनुभएको थियो । भण्डारीले पछिल्लो समय मिडियामा महिलालाई जोडेर आउने विषयवस्तुले महिलालाई पार्ने असरका बारेमा उल्लेख गर्नुभएको थियो । उहाँले मिडियामा महिलाका विषयलाई हलुका रुपमा लिँदा पनि समाजमा महिला हिंसा बढेको उहाँको भनाई थियो । अहिले सामाजिक सञ्जालमा हुने असम्पादित न्यूज, भिडिओले महिलामाथि हिंसा गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा उपसभामुख बिनाकुमारी थापाले महिलाका अधिकार बढ्दै गएपनि महिला हिंसा पनि बढिरहेको बताउनुभयो । उहाँले महिला हिंसा न्यूनीकरण गर्न प्रदेशसभा मार्फत पहल र सबैले समाजबाट महिला हिंसा अन्त्य गर्न पहल गर्नुपर्ने बताउनुभयो । समाजका हरेक तप्कामा लैङ्गिक सभालका मुद्दा जोडतोडका साथ उठाउनुपर्ने उहाँको भनाइ थियो । इन्सेक कार्यक्रम अधिकृत सबनम शर्माले गण्डकी प्रदेशमा महिला हिंसाको दर बढ्दै गइरहेको तथ्य प्रस्तुत गर्नुभएको थियो । पत्रकारीता मार्फत समाजमा हुने महिला हिंसा कम गर्न भूमिका निर्वाह गर्नुपर्ने उहाँको जोड थियो । कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले लैंगिक मैत्री कानुन बनाउन सरकारसँग आह्वान गर्नुभएको थियो ।
सन्जय रानाभाट