लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सुरु
कास्की । २०७८ मङ्सिर ९ गते
‘घरैबाट सूरु गरौ, महिला हिंसा अन्त्य गरौ ’भन्ने मुल नाराका साथ मङ्सिर ९ गते देखि मङ्सिर १४ गतेसम्म मनाइने लैङगिक हिंसाविरुद्धको १६ दिने अभियान प्रदेशका विभिन्न जिल्लामा प्रभातफेरी गरी सूरु गरिएको छ । प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालनका लागि शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले सहयोग गरेको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार मुल समारोह समिती गण्डकी प्रदेशको आयोजना र इन्सेक लगायत विभिन्न सङ्घ सस्थाहरुको सहकार्यमा मङ्सिर ९ गते प्रभातफेरी गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । १६ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने दिवसमा सामाजिक विकास कार्यालयको आयोजना र इन्सेक गण्डकी प्रदेश कार्यालयको समन्वयमा मङ्सिर १४ गते अन्नपुर्ण गाउँपालिका र मङ्सिर १९ गते रुपा गाउँपालिकामा लैङ्गिक हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।
पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना तथा इन्सेक, गैर सरकारी संस्था महासङ्घ पर्वत, सोडेक नेपाल, गुडनेवर्सको सहकार्यमा पर्वतमा अभियान सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले मंङ्सिर ८ गते अभियानको शुभारम्भ गर्नुभएको थियो । ‘ लैङ्गिक हिंसा हुन दिने छैनौ, हिंसा भएको थाहा पाए सम्बन्धित निकायमा उजुरी गर्ने छौँ’ भन्ने लेखिएको व्यानरमा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरिएको थियो ।
उहाँले १६ दिन सम्म सञ्चालित अभियानलाई सफल बनाउन सवै आ आफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्दै अभियानलाई अभियानकै रुपमा मात्रै सिमित नबनाई सामाजिक विकृति उन्मुलन सँगै लैङ्गिक हिंसा मुक्त समाज निर्माण बनाउन सवैको उत्तिकै भूमिका रहेको बताउनुभयो । अभियानका क्रममा पर्वतका विभिन्न कार्यालयका प्रमुख एवमं कर्मचारी सहित सुरक्षाकर्मी र मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
१६ दिन सम्म सञ्चालन हुने अभियानमा पर्वतका विभिन्न सात ओटा स्थानीय तहहरु, जिल्ला प्रहरी कार्यालय पर्वतको समुदाय साझेदारी कार्यक्रम र सामाजिक विकास कार्यालय तथा जिल्लाका अधिकारसम्बद्ध सङ्घ संस्थाहरुले आआफ्नो क्षेत्रबाट कार्यक्रमहरु सञ्चालन गर्ने र अभियानलाई सफल पार्ने कार्यक्रम रहेको सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहन चन्द्र पौडेलले जानकारी दिनुभयो ।
इन्सेक, गण्डकी प्रदेश कार्यालय