लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७८ विभिन्न कार्यक्रमको आयोजना गरी सुरू
काठमाडौँ । २०७८ मङ्सिर ९ गते
‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्सिर ९ गतेबाट सुरू गरिएको छ । नेपालमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।
उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १९९१ देखि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो ।
काठमाडौँ प्रतिनिधि विमल पौडेलका अनुसार महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसा न्यूनीकरणका लागि पहिला कानुनको प्रभावकरी कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मङ्सिर ९ गते शुभकामना सन्देश जारी गर्दै अभियानको सफलताको कामना गर्नुभएको हो ।
‘परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरूमा महिलाहरूको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको छ ।’–सन्देशमा उल्लेख गरिएको छ–‘यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछुतजस्ता महिलाद्वेषी प्रथा, परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन् ।’
शुभकामना सन्देशमार्फत उहाँले लैङ्गिक हिंसाविरूद्ध ऐक्यबद्धता सहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा अनुरोध गर्नु भएको छ । अभियानबारे जानकारी दिँदै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नेपालमा ७५ प्रतिशत हिंसा घर, नजिकका आफन्तबाट हुने गरेको पाइएकाले समाजमा जागरण ल्याउने उद्देश्यले मङ्सिर ९ गतेदेखि १६ दिनसम्म देशैभर विभिन्न कार्यक्रममार्फत विशेष अभियान सञ्चालन गरिने बताउनु भयो । घरेलु हिंसामा परेका महिलाले घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले अधिकांश महिला हिंसा विरुद्ध उजुरी गर्न नजाने गरेको उहाँले उल्लेख गर्नु भयो ।
धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार धादिङबेसीमा प्रभातफेरी गरिएको छ ।
इन्सेक, सहयात्री समाज नेपाल, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल, नीलकण्ठ नगरपालिका, नेपाल प्रहरी, युएस्एड र डेभलभमेन्ट एक्सचेन्ज सेन्टर नेपाल लगायतको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यलय धादिङका एसपी महेन्द्र खड्काले समाजमा हिंसा बढ्दो क्रममा रहेको बताउनु भएको छ ।
घरभित्र महिलामाथि हुने हिंसा अझै कायमै रहेकाले १६ दिने अभियानले कम गराउन सामूहिक प्रयास गर्नुपर्ने अधिवक्ता एवम् सहयात्री समाज नेपालकी कार्यकारी निर्देशक राधिका सापकोटाले बताउनु भयो । सचेतना तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले महिला हिंसाको अन्त्य गरौँ, समृद्ध समाजको निर्माण गरौँ, दाइजो प्रथाको अन्त्य गराँै, बालविवाहको अन्त्य गरौँ, छोराछोरीमा भेदभाव नगरौँ, यौन हिंसा अन्त्य गरौँ, घरदेखि नै महिला हिंसाको अन्त्य गरौँ लगायतको प्ले कार्ड बोकेका थिए । इन्सेक लगायतका संस्थाहरूको सहभागितामा धादिङबेसीमा मङ्सिर ८ गते बेलुका दीप प्रज्ज्वलन गरिएको छ ।
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागार्इंले लिङ्गका आधारमा हुने सबै हिंसा न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो । ‘म हिंसा गर्दिनँ र हिंसा सहन्न भन्ने वाक्यलाई आत्मसाथ गर्दै हिंसा न्यूनीकरण अभियान सञ्चालन गर्नु आवश्यक भएको उहाँको भनाइ छ । जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर बिष्टले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ ।
पछिल्लो समय देशभर हिंसा पीडितहरूको सङ्ख्या बढ्दै गएको बताउँदै उहाँले घरपरिवार तथा समाजमा हुने सबै हिंसा न्यूनीकरणका लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनु भएको हो । ‘हिंसा न्यूनीकरणका लागि सबै निकाय जिम्मेवार बन्न आवश्यक छ । हिंसाकै कारण धेरै महिलाको मृत्यु भएका घटना सार्वजनिक भइरहेका छन् ।’–उहाँले भन्नुभयो–‘हिंसा न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तह जिम्मेवार गम्भीर बन्न आवश्यक छ ।’
जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजना तथा शारदा नगरपालिका, इन्सेक, हरप्लेस, दलित विकास समाज सल्यान, सुआहारा, पास नेपाललगायतका संस्थाहरूको सहकार्यमा १६ दिने अभियान सञ्चालन गरिएको छ ।
रुकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार मुसिकोट खलङ्गामा मुसिकोट नगरपालिकाको आयोजना तथा इन्सेकलगायतका संस्थाहरूको सहकार्यमा ¥याली प्रदर्शन गरिएको छ ।
र्याली त्रिवेणीचोक, पुष्पलालचोक, जिप्रका रोड हुँदै कालिकास्थान पुगेर सभामा परिणत गरिएको थियो । कुनैपनि खाले हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएपछि मात्र घटनामा कमी आउने भन्दै सहभागीहरूले त्यसका लागि राज्यले बलियो भएर लाग्नुपर्ने र दण्डहिनताको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । यो अभियान १६ दिनसम्म मुसिकोट नगरपालिकाका १४ ओटै वडामा सञ्चालन गरिने र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई समेत सहभागी गराएर गाउँसम्म यसको सन्देश फैलाउने मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसीले जानकारी दिनु भयो ।
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार १६ दिने अभियानको पहिलो दिन मङ्सिर ९ गते जिल्ला सदरमुकामको गणेशचोकबाट आरम्भको प्लेकार्ड र व्यानर सहितको जुलुसले नगर परिक्रमा गरी देवकोटाचोकमा अन्तरक्रिया गरिएको छ ।
इन्सेकलगायत नागरिक सङ्गठनहरू र सरकारी कार्यालयहरूको संयुक्त पहलमा गरिएको अभियान कार्यक्रममा मङ्सिर २४ गतेसम्म विद्यालय र समुदायस्तरका अन्तरक्रिया, रेडियो सम्वाद, पर्चा पम्प्लेटलगायत जनचेतनामूलक कार्यक्रम तय गरिएको छ ।
अनलाइन डेस्क