लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
धनुषा । २०८१ मङ्सिर १२ गते
मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाले लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत मङ्सिर १० गते विहान जनकपुरधाममा प्रभातफेरीको आयोजना गरेको छ ।
“हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ जनकपुरको जनकचोकबाट निकालिएको प्रभातफेरी शिव चोक, भानु चोक, मिल्स एरिया हुँदै खेलकुद तथा समााज कल्याण मन्त्रालयको प्राङ्गणमा पुगी कोण सभामा परिणत भएको हो ।
कोण सभालाई सम्बोधन गर्दै खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले समाजमा व्याप्त लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भयो । बालविवाह, दाइजो प्रथा र घरेलु हिंसा लगायत महिलामाथि हुने हिंसा अन्त्यका लागि गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मधेस प्रदेशमा महिलामाथि हुने हिंसाका घटनाहरू बढेर गएको बताउनु भयो । इन्सेकले सन् २०२४ को जनवरी देखि सेप्टेम्बर महिना अर्थात नौ महिनाको अवधिमा अभिलेख गरेका मानव अधिकार उल्लंघनको घटनामा २ हजार ३२ जना पीडित भए, जसमध्ये १ हजार ७ सय २८ जना महिला पीडित भएको जानकारी दिनु भयो ।
हिंसामा परेका पीडित महिलाहरूको न्यायमा पहुँच हुन नसक्दा थप पीडित हुने गरेको इन्सेक मधेस प्रदेश संयोजक पासवानले उल्लेख गर्नुहुँदै पीडितहरूको न्यायमा सहज पहुँच हुन आवश्यक रहेको बताउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
HUMAN RIGHTS NEWS PORTAL






