लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न

सुर्खेत । २०७९ वैशाख १७ गते

लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्य न्यायधिवक्ता धुर्वकुमार श्रेष्ठले मानव अधिकार सुरक्षित हुन सके र लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी जानकारी भए शान्ति सुव्यवस्था कायम गर्न मद्दत पुग्ने बताउनु भयो । मानव अधिकार संरक्षणका लागि इन्सेक र प्रदेश सरकारको साझा उद्देश्य भएकाले आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको उहाँको भनाइ छ । मानव अधिकारसँग सम्बन्धित अभियानहरूमा सहकार्य गर्ने भन्दै सहभागीहरूले तालिममा सिकेका ज्ञान र सिपलाई समुदायमा गएर व्यवहारिक रुपमा कार्यान्वयन गनुपर्नेमा जोड दिए । तालिमका सहजकर्ता डा.अर्जुन अयडीले मुख्यगरी लैङ्गिक हिंसा तथा जातीय विभेदसँग सम्बन्धित समस्या पहिचान, कानुनी व्यवस्था र प्रक्रियाका तथा समाधानका उपायका बारेमा समेत छलफल भएको बताउनु भयो ।

तालिमको समापन कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार रक्षकसँग सम्बन्धित कानुनको मस्यौदा बनाउने काम भइरहेको हुँदा उक्त कानुन बनाउन मुख्य न्याधिवक्ता श्रेष्ठलाई पहल लिन आग्रह गर्नु भयो । तालिम पश्चात सहभागीलाई समुदायमा काम गर्दा आईपर्ने समस्या पहिचान गरी समाधानका लागि उपाय खोज्न र काम गर्न सहज हुने बताउनु भयो । तालिममा पाँच जिल्लाका सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेखका सहभागी रहेको अधिकार परियोजनाका संयोजक किरण पौडेलले जानकारी दिनु भयो ।

पूर्णबहादुर खड्का