लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न

धनुषा । २०८१ असार ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा समग्र जनउत्थान केन्द्रले लैंगिक हिंसा न्युनिकरणका लागि अवको दिशा निर्देशन सम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रम ०८१ असार ६ गते जनकपुरमा सम्पन्न गरेको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तथा महिला विकास प्रमुख देवकुमारी शर्मा खत्रीले अशिक्षा र गरिबीका कारण लैङ्गिक हिंसा बढेको उल्लेख गर्नु हुँदै लैङगिक हिंसा न्यूनिकरणका लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरू मधेस प्रदेशमा आवश्यक रहेको बताउनु भयो । शिक्षित तथा बुझ्ने व्यक्तिहरूबाट पनि लैङ्गिक हिंसाका घटनाहरू भइरहेको उहाँको भनाई थियो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका कार्यालय प्रमुख मञ्जु खतिवडाले अयोगमा परेका उजुरी मध्ये ९० प्रतिशत उजुरी महिला हिंसासँग सम्बन्धित रहेको बताउनु भयो । मधेस प्रदेशमा लैङ्गिक हिंसाको विकराल रुप रहेकोले हिंसा न्यूनिकरणका लागि महिलाको शिक्षा र आर्थिक सशक्तिकरण तथा रोजगारीमा जोड दिनु पर्ने बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले गरिबी, अशिक्षा, वेरोजगारी तथा अन्धविश्वास र सामाजिक कुप्रथाका कारण मधेस प्रदेशमा लैङ्गिक हिंसाका घटनाहरू बढेर गएको बताउनु भयो । लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले आर्थिक सशिक्तकण र शिक्षाका कार्यक्रमहरूलाई प्रभाकारी रुपमा लैजानु पर्नेमा उहाँले जोड दिनु भयो । साथै लैङ्गिक हिंसा न्यूनिकरणका लागि बनेका ऐन र कानुन तथा सरकारका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुनु पर्ने उहाँले बताउनु भयो ।

केयर नेपालका लैङ्गिक हिंसा कार्यक्रम व्यवस्थापक लक्ष्मी अर्यालले लैङ्गिक हिंसा हुन नदिन व्यक्ति र समाजको व्यवहारमा परिवर्तन हुन अवश्यक रहेको बताउनु भयो । सरकारी संयन्त्रले गरेको कमी कमजोरीलाई खबरदारी गर्नु पर्ने उहाँले बताउनु भयो । अधिकारमूखि अवधाराणसँगै आवश्यकताका आधारमा पनि लैङ्गिक हिंसा न्यूनिकरणका लागि काम गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले मधेस प्रदेशमा सबै प्रकारका हिंसाका घटना हुने गरेकाले लैङ्गिक हिंसाको विषय गम्भीर बन्दै गएकोमा सो अनुसारको चिन्तन हुनु पर्नेमा जोड दिनु भयो । लैङ्गिक हिंसा न्यूनिकरणका लागि कुनै एक पक्ष मात्र लागेर नहुने भएकाले सबै सरोकारवाला बीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनु भयो ।

एडभोकेसी फोरमका मधेस प्रदेश संयोजक राजकुमार महासेठले लैङ्गिक हिंसा न्यूनिकरणका लागि गैर राज्य पक्षको भूमिका र जिम्मेबारी बढी हुनुपर्ने बताउनु भयो । लैङ्गिक हिंसा न्यूनिकरणका लागि सामाजिक चेतना, आर्थिक समानता, रोजगार, राज्यको प्रभावकारी नीति तथा कार्यक्रम र लैङ्गिक बजेट आवश्यक रहेको उहाँले बताउनु भयो ।

दलित महिला संघ धनुषा जिल्ला परियोजनाका संयोजक सिजेन्द्र सदाले लैङ्गिक हिंसाका घटनामा दलित महिला बढी पीडित हुने गरेको र सहज न्याय पाउन नसकेको बताउनु भयो । पीडितको न्यायका लागि राज्यका निकायलाई झकझकाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका सचिव बटुकनाथ झाले महिलाका लागि आर्थिक सशक्तिकरण केन्द्रीत कार्यक्रमहरू गर्नु पर्नेमा जोड दिँदै स्वरोजगार शिक्षा महिलाका लागि अहिलेको आवश्यक्ता रहेको बताउनु भयो ।

समग्र जनउत्थान केन्द्रका कार्यकारी निर्देशक देवराज पोखरेलले कार्यक्रमको उद्दश्यमाथि प्रकाश पार्दै लैङ्गिक हिंसा न्यूनिकरणका लागि अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

 इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम