लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकार प्रतिवद्ध छ : राज्य मन्त्री गजमेर
मोरङ । २०७७ मङ्सिर १० गते
लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घीय सरकार र प्रदेश सरकारले प्रभावकारी कदम चालेको र हिंसा अन्त्यका लागि सरकार प्रतिवद्ध रहेकाे प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक),माइती नेपाल,ओरेकलगायतका आधा दर्जन बढी अधिकारको क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले नोभेम्वर २५ अर्थात्(मङ्सिर १०)गते विराटनगरमा आयोजना गरेको लैङ्गिक हिंसा विरूद्धको १६ दिवसीय अभियानको उद्घाटन गर्दै राज्य मन्त्री गजमेर लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको साझा प्रतिवद्धता आवश्यक रहेको बताउनु भएको छ । उहाँले विगतको समयमा अधिकारकर्मीहरूले हिंसा नसहन र न्यायका लागि आवाज उठाउनु फैलाएको चेतनाका कारण पछिल्ला दिनमा सबै तह र तप्काबाट न्यायका लागि आवाज उठ्न थालेको बताउनु भयो । मन्त्री गजमेरले १६ दिवसीय अभियानले सबैलाई एकतावद्ध गरी लैङ्गिक हिंसा अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेश १ मा अभियान सुरू भएको बताउनु भयो ।
नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म विश्वव्यापी रूपमा मनाईने लैङ्गिक हिंसाविरूद्ध यस वर्षको नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता रहेको छ । सो अवसरमा बोल्दै इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले व्यवस्था फेरिएपनि व्यवहार नफेरिएकाले आशातीत रूपमा लैङ्गिक हिंसाको अन्त्य नभएपनि इन्सेकलगायत अधिकारको क्षेत्रमा क्रियाशील नागरिक सङ्घसंस्थाले राज्यलाई सधैँभरी सचेत गराएका कारण सङ्घीय सरकारबाट महिला तथा बालबालिकामाथि हुने हिंसाका कानुनहरूलाई कठोर बनाउँने गरी सङ्घीय सरकारबाट अध्यादेश जारी हुनु सकारात्मक रहेको बताउनु भयो । कार्यक्रममा आफ्ना धारण राख्ने क्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय निमित्त प्रमुख गीता दहालले राज्य एक्लैले मात्र लैङ्गिक हिंसा न्यूनीकरणका लागि कार्य गर्न नसक्ने बताउनु भयो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगले समयसमयमा लैङ्गिक हिंसा वा अन्य कुनै हिंसा परेकाहरूलाई न्याय दिलाउनका लागि आयोगले सरकार समक्ष सिफारिस गर्दै आएको बताउनु भयो ।
गैर सरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य उमेश विश्वकर्माले समाजमा अझै पनि दुवै खाले मानसिकता कायम रहेकाले लैङ्गिक हिंसा न्यूनीकरणका प्रयासहरू प्रर्याप्त नभएको बताउनु भयो । उहाँले समाजमा अझै पनि उचता र निचताका भावले अन्यायमा परेकाहरूलाई न्याय दिलाउने प्रणाली खराब भएकाले सोचे अनुरूप समाजमा हिंसा न्यूनीकरण हुन नसकेको बताउनु भयो । अपाङ्ग महासङ्घ प्रदेश अध्यक्ष पार्वती श्रेष्ठले पछिल्ला दिनमा बौद्धिक अपाङ्गता भएका महिला र बालबालिकामाथि हिंसाका घटना बढेको बताउनु भयो । उहाँले बौद्धिक अपाङ्गता भएकाहरूले हिंसा गर्नेका विरूद्ध प्रष्ट रूपमा बताउनु नसक्ने भएकाले हिंसाका घटनाहरू बढ्दै गएको बताउनु भयो । १६ दिवसीय अभियानको सान्र्दभिकता झन् भन्दा झन् बढेको बताउँदै श्रेष्ठले निजी क्षेत्रमा अधिकारका लागि क्रियाशील सङ्घ संस्थाको भूमिकालाई राज्यले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
अधिकारकर्मी मञ्जीता उपाध्यायले अधिकारकर्मीहरूको सक्रियताका कारण विगत केही वर्षयता आम रूपमा महिला तथा बालबालिकाहरूले हिंसाको विरोध र दोषीलाई कारबाहीका लागि आवाज उठाउन थालेको बताउनु भयो । माइती नेपाल मोरङ संयोजक विनोद पोखरेलले विश्वव्यापी रूपमा मनाइने १६ दिवसीय अभियानका प्रभाव घरघरमा पर्ने र त्यसलाई लैङ्गिक हिंसा न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेलले १६ दिवसीय अभियानले आवाजविहीन र हिंसामा परेकाहरूको आवाजलाई समेट्न आवश्यक रहेको बताउनु भयो । उहाँले पत्रकार र सञ्चार गृहले अभियानलाई सधैँ भरी साथ दिएर लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रमुख भूमिका खेल्दै आएको बताउनु भयो । १६ दिनसम्म मनाइने दिवसमा अधिकारको क्षेत्रमा क्रिया सङ्घसंस्थाहरूले महिला स्वास्थ्य र परामर्श मेलासहित कोभिड–१९ को समयमा महिला र बालबालिका तथा ज्येष्ठ नागरिकहरूको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने लगायतका कार्यक्रम तय गरेका छन् ।
नेत्रप्रसाद अधिकारी