लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता र जिम्मेवारी एकअर्काका परिपुरक: वरिष्ठतम न्यायाधीश मल्ल

ललितपुर । २०८३ साउन १६ गते

सर्वोच्च अदालतका माननीय वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले प्रेस तथा स्वतन्त्रता नै लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता र जिम्मेवारी एक अर्काका परिपुरक रहेको बताउनु भएको छ । इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “३२ औं प्रकाश मानव अधिकार पुरस्कार” वितरण समारोहलाई ०८३ साउन १६ गते सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले राजनीतिक परिवर्तनसँगै द्वन्द्वका घाउहरुको न्यायको परिपुरण हुन बाँकी रहेको स्मरण गर्दै अदालतले न्यायको बाटो खोल्न सक्ने तर सम्मानका साथ बाँच्ने अवस्थाको सिर्जना नभएसम्म मानव अधिकारको प्रत्याभूति नहुने बताउनु भयो ।

अहिले प्रविधिको विकाससँगै कृतिम बुद्धिमताको प्रयोगले मानव अधिकारका लागि डिजिटल सचेतना जगाउनु पर्ने खाँचो औंल्याउदै जलवायु परिवर्तनसँगै प्रकृतिको आत्म सम्मानको संरक्षण गरिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले प्रेस तथा स्वतन्त्रता नै लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता र जिम्मेवारीको आपसी सम्बन्ध रहेको धारणा राख्नु भयो ।

वरिष्ठतम् न्यायाधीश मल्लले संवैधानिक सीमा भित्र संविधानको रक्षा गर्नु नै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको दायित्व भएको स्मरण गर्दै मानिसको पहिचान राज्यले दिने कागजबाट मात्र नहुनेमा जोड दिनुभयो ।

पुरस्कृत व्यक्तित्व रुद्रबहादुर खड्कालाई सम्मान गर्न पाउदाको क्षणलाई आफूले पहिलेदेखि जानेको र बिर्सिएको विषयलाई स्मरण गराउने अवसरका रुपमा इन्सेकले सम्झाएको स्मरण गर्दै सक्षम संविधान र उत्कृष्ट कानुनको परिपालनाले नै समृद्धि ल्याउने विचार राख्नु भयो । मल्लले प्रविधि अघि बढोस् तर मानिस पछाडि नपरोस् भन्दै करुणाको नभइ शान्ति र सहनशीलताको यात्रामा लाग्न आह्वान गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका पीडितले न्याय नपाउनु र सङ्क्रमणकालीन न्याय निश्कर्षमा पुग्न नसक्दा जनतामा निराशा बढिरहेको स्मरण गर्दै देशको कार्यकारी प्रमुखलाई संसदमा जवाफदेही भएर बोल्न सांसददेखि सभामुखसमेतले आग्रह गर्दा समेत सुनुवाई नभएको र न्यायालयमा परम्परागतरुपमा वरिष्ठतम् न्यायाधीशलाई नै प्रधान न्यायाधीश बनाउने परम्परा तोडिएको घटनाले तीन वर्ष सर्वोच्च अदालतमा सेवा गरेको न्यायाधीश प्रधान न्यायाधीश बन्ने थालनीले जनताले न्यायका लागि गर्दै आएको अपेक्षामा समेत शंका पैदा गरेको बताउनु भयो ।

उहाँले अरुले मानव अधिकार हनन् गरेको विषयको निवारण राष्ट्रिय मानव अधिकार आयोगले गर्नु पर्नेमा मानव अधिकार आयोगले ०८२ भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानविन प्रतिवेदनको पूर्णपाठ सार्वजनिक नगर्दा जनताले मानव अधिकारको प्रत्याभूतिका लागि जाने ठाउँमा अन्यौलता भएको अवस्थामा पनि लोकतन्त्र र मानव अधिकारका लागि हामी सबैले निरन्तर खबरदारी गर्नु पर्नेमा जोड दिनुभयो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले बहुआयामिक व्यक्तित्व, राजनीतिक गतिविधिदेखि पत्रकारिताका माध्यमबाट समुदायसम्म मानव अधिकारको प्रत्याभूतिका लागि क्रियाशील प्रकाश काफ्लेले नेपालको मात्र नभइ अन्तर्राष्ट्रिय स्तरसम्म योगदान पु¥याएको स्मरण गर्दै नेपाल सरकार र नेपालका मानव अधिकारकर्मीले समेत भुटानी नागरिकहरुलाई स्वदेश फर्कने वातावरण बनाउनु नसकेको प्रति दुःख व्यक्त गर्नुभयो ।

प्रकाश काफ्लेले श्रिलङ्कामा भएको मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी भइ स्वदेश फर्कने क्रममा २०४९ साल साउन १६ गते हवाई दुर्घटनामा परेर दिबङ्गत भएको स्मरण गर्दै उहाँको स्मृतिमा इन्सेकले २०५१ सालमा पुरस्कार स्थापना गरी २०५२ सालमा ग्रामीण पत्रकातिका अभियन्ता विनय कसजुलाई पुरस्कृत गरिएको जानकारीसहित नयाँ पुस्तालाई नेपालको मानव अधिकार अभियान सबैका घर घरमा पु¥याउने कार्यमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले अहिले समुदायमा राजनीतिक आडमा धर्मका नाममा आफ्नो स्वार्थ सिद्ध गर्न द्वन्द्व बढाइरहेको उल्लेख गर्दै व्यक्तिले धर्ममा आस्था राख्न पाउने तर एक अर्कामा घृणा र द्वेष पैmल्याउन नहुनेमा जोड दिनु भयो ।

इन्सेकका अध्यक्ष विजयराज गौतमले प्रकाश काफ्लेले ‘मानव अधिकारको रक्षा र विकास जनताको सचेत जागरण र सङ्गठित आवाजबाट मात्र सम्भव छ’ भन्ने मान्यता राख्नु भएकोले उहाँको सपना साकार पार्न अभैm बाँकी रहेको स्मरण गर्दै लोकतन्त्र र मानव अधिकारका मुद्दामा नागरिक समाज प्रतिबद्ध रहेकाले लोकतान्त्रिक मूल्य, मान्यता र मानव अधिकार मैत्री वातावरण निर्माणका लागि साझा प्रयासका लागि आग्रह गर्नुभयो ।

सम्मानित व्यक्तित्व रुद्रबहादुर खड्काले सिन्धुली जिल्लामा जन्मिनु भएका स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रकाश मानव अधिकार पुरस्कार–२०८२ बाट आफू सम्मानित भएकोमा गौरवान्वित भएको उल्लेख गर्दै इन्सेकले आफूलाई सम्मानित गरेकोमा खुशीसँगै चुनौती र थप जिम्मेवारी बढेको बताउनु भयो । उहाँले ग्रामीणस्तरदेखि नै मानव अधिकारको सचेतना, जागरण र सुशासनका लागि एकताबद्ध भएर काम गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले मौलिक हकको कार्यान्वयन र बेथिति, बिसङ्गतिको विरुद्धमा लागिरहनु पर्ने धारणा राख्नु भयो ।

पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त  ४८ जनाको नाममध्येबाट शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील सिन्धुली जिल्ला कमलामाई नगरपालिका–९, भीमान निवासी रुद्रबहादुर खड्कालाई छनोट गरिएको पुरस्कार छनोट समितिका सदस्य दुर्गा सोवले जानकारी दिनु भयो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. लिली थापा र अधिकारकर्मी दुर्गा सोव सदस्य हुनुहुन्थ्यो ।

पुरस्कृत व्यक्तित्व खड्कालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले नगद ५० हजार रुपियाँ सहित सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गर्नुभएको थियो ।

    

दीपकप्रसाद घिमिरे