वडाध्यक्षद्वारा युवा कुटपिट घटनाको इन्सेकद्वारा अनुगमन
जाजरकोट । २०७८ साउन २४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको नेतृत्वमा जुनिचाँदे गाउँपालिका–२ को वडा कार्यालयमा गत साउन १५ गते भएको घटनाको अनुगमन गरिएको छ । इन्सेकको नेतृत्वमा उच्च वार एशोसिएशन र नेपाल पत्रकार महासंघ सहितको टोलीले साउन २१ गते ३३ वर्षीय वडाध्यक्ष रामबहादुर नेपालीले सोहि ठाउँका १८ वर्षीय सर्पे दमाइलाई कार्यालय परिसरमै कुटपिट गरेको घटनाको स्थलगत अनुमनका क्रममा घटनाका प्रत्यक्षदर्शी र स्थानीय समुदायका अगुवासँगपनि छलफल गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो । घटनाका विषयमा स्थलगत अध्ययन बिना सत्य, तथ्य पत्ता नलाग्ने भएको हुँदा घटना स्थलमै पुगेर सरोकारवालासँग भेटेर छलफल गरिएको सुवेदीको भनाइ छ ।
अनुगमन टोलीले साउन २२ गते गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य, जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुकुमार थापा र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटासँग समेत भेटेर घटनाको बारेमा जानकारी लिएको थियो । कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा आएको आधारमा प्रहरीले आरोपित वडाध्यक्ष र घटनामा संलग्न सोही ठाउँका २६ वर्षीय ललित विकलाई साउन २१ गते गिरफ्तार गरेर अभद्र व्यवहारको मुद्दा लगाएको डीएसपी थापाले बताउनुभयो । डीएसपी थापाका अनुसार पीडित भनिएका व्यक्ति र उनका अविभावकले वडा अध्यक्षको कुनै गल्ती छैन भनि कही उजुरी दिएका छैनन् ।
दिनेशकुमार श्रेष्ठ