वडा अध्यक्षलाई ध्यानाकर्षण-पत्र
सप्तरी । २०८१ जेठ १० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले डाक्नेश्वरी नगरपालिका-१० की ४५ वर्षीया धनेश्वरी कुमारी राम र १८ वर्षीय जावेद अन्सारीको नागरिकता प्रतिलिपिका लागि वडा अध्यक्ष कुञ्जीलाल चौधरीलाई ०८१ जेठ ९ गते ध्यानाकर्षण-पत्र बुझाएको छ । नागरिकताको अभावमा राज्यबाट पाउने सुविधाबाट उहाँहरु बञ्चित रहनु परेको भन्दै पीडितहरुबाट ०८१ जेठ ३ गते समूहलाई निवेदन आएपछि मानव अधिकार समूहले जेठ ९ गते अनुगमन गरी वडा अध्यक्ष चौधरीलाई ध्यानाकर्षण-पत्र बुझाएको हो । रामका बुबा मुनर मोची राम र अन्सारीका बुबा सुलेमान अन्सारीको मृत्यु भइसकेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले वडा अध्यक्षलाई ध्यानाकर्षण-पत्र बुझाइएको मानव अधिकार समूहका कोषाध्यक्ष मुसा अन्सारीले बताउनु भयो । ध्यानाकर्षण-पत्रमा नागरिकता अभावमा राज्यबाट पाउने अधिकारबाट बञ्चित रहेकोले नागरिकता प्रतिलिपि बनाउन पहल गरिदिनुहुन माँग गरिएको छ । वडा अध्यक्ष चौधरीले उक्त समस्याप्रति सहयोग रहने र पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । मानव अधिकार समूह डाक्नेश्वरीका कोषाध्यक्ष अन्सारी, मानव अधिकार समूह वडा नं १० का अध्यक्ष बौएलाल रजक र इन्सेक जिल्ला सहजकर्ता अजय परियार लगायतको टोलीले अनुगमन गर्नुका साथै वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मनोहरकुमार पोखरेल